Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

टीयूका सह-परीक्षा नियन्त्रक नियुक्तिमा अनियमितता: अख्तियारले चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

टीयूका सह-परीक्षा नियन्त्रक नियुक्तिमा अनियमितता: अख्तियारले चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय (टीयू) का तीनजना प्राध्यापक र एक सह-परीक्षा नियन्त्रकसहित चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रि.वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरमा सह-परीक्षा नियन्त्रक पदको चयन तथा नियुक्ति प्रक्रियामा अनियमितता र बदनियतपूर्ण कार्य भएको ठहर गर्दै आयोगले मंगलबार उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।

    मुद्दामा प्रतिवादीका रूपमा प्रा.डा. जया लक्ष्मी प्रधान (संयोजक, छनोट समिति तथा प्राध्यापक, पद्म कन्या क्याम्पस), प्रा.डा. मोतिलाल शर्मा (सदस्य, छनोट समिति तथा प्राध्यापक, रसायनशास्त्र विभाग), प्रा.डा. मेघराज पोखरेल (सदस्य, छनोट समिति) र डिल्लीराम प्रसाई (सह-परीक्षा नियन्त्रक तथा सह-प्राध्यापक, टीयू) रहेका छन्।

    अख्तियारको अनुसन्धान अनुसार, सह-परीक्षा नियन्त्रकका उम्मेदवार डिल्लीराम प्रसाईले आफूसँग नभएको पीएचडी उपाधि प्राप्त भएको झुटो विवरण पेश गरेका थिए। विद्यावारिधि (पीएचडी) प्रक्रिया पूरा भइसकेको भनी उनले बायोडाटा र शैक्षिक फारममा उल्लेख गर्दै पीएचडी बापतको ८ अंक प्राप्त गरेका थिए। विभिन्न सेमिनारका ‘डा.’ उल्लेख भएका प्रमाणपत्र प्रस्तुत गरी भ्रम सिर्जना गरिएको आयोगको निष्कर्ष छ।

    अनुसन्धानमा खुलिएको तथ्य अनुसार, आवेदन दिने समयमा प्रसाईको विद्यावारिधि सम्पन्न भइसकेको थिएन। विद्यावारिधि नपुगेको तथ्य लुकाई प्राप्त अंकका कारण उनी मेरिट सूचीको पहिलो स्थानमा परेका थिए।

    छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान तथा सदस्यहरू प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोखरेलमाथि पनि यही तथ्य थाहा हुँदाहुँदै बदनियत राखी गलत अंक प्रदान गरेको आरोप लागेको छ। आवेदकले पेश गरेको झुटो विवरणप्रति आवश्यक छानबिन नगरी मिलेमतोमा परिणाम फेरबदल गरी प्रसाईलाई नियुक्तिको सिफारिस गरिएको आयोगले जनाएको छ।

    अपराध पुष्टि भएपछि अख्तियारले चारै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै छनोट समितिका तीन प्राध्यापकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र १९(२) बमोजिम कैद र जरिवानाको माग दाबी गरेको छ।

    त्यस्तै, झुटा कागजात पेस गरी लाभ लिने डिल्लीराम प्रसाईलाई दफा १५ बमोजिम कैद, जरिवाना तथा अन्य सम्बन्धित दफा आकर्षित गरी हदैसम्मको कारबाही गर्न माग गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij