Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पुँजीगततर्फ ७३ प्रतिशत खर्च

पुँजीगततर्फ ७३ प्रतिशत खर्च

  • चितवन । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो ।

     सङ्घबाट पुँजीगत खर्चका लागि रु पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ । 

     चालु खर्चका लागि विनियोजित रकम रु १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार तीन सय १३ मध्ये रु ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० खर्च भएको शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सङ्घीय सरकारबाट प्राप्त रु १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ मध्ये रु १६ अर्ब २४ करोड छ लाख १३ हजार छ सय ५४ खर्च भएको छ । विनियोजित कुल बजेटको ८५ दशमलव ९९ प्रतिशत खर्च भएको उहाँले जानकारी दिनुभयो ।
     
     प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३ दशमलव ६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्चतर्फको ७८ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ७५ दशमलव ८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ रु एक अर्ब ६१ करोड ९४ लाख ३० हजार चार सय ८७ विनियोजन गरेको थियो ।

     पुँजीगततर्फ रु तीन अर्ब ३६ करोड १९ लाख २८ हजार विनियोजन भएकामा रु दुई अर्ब ४५ करोड ९२ लाख ३१ हजार सात सय १० खर्च भएको शर्माले जानकारी दिनुभयो । जिल्लामा प्रदेशबाट रु चार अर्ब ९८ करोड १३ लाख ५८ हजार चार सय ८७ विनियोजित भएकामा रु तीन अर्ब ८१ करोड ८१ लाख ६९ हजार छ सय २५ खर्च भएको छ । जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पुँजीगततर्फको खर्च बढेको उहाँले जानकारी दिनुभयो । रासस
    –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij