Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

हेटौडा सिमेन्टले फेरि आफ्नो स्वामित्वको रोपवे बेच्न सूचना निकाल्यो, यो पटक खरिदकर्ता पाउला ?

हेटौडा सिमेन्टले फेरि आफ्नो स्वामित्वको रोपवे बेच्न सूचना निकाल्यो, यो पटक खरिदकर्ता पाउला ?

  • काठमाडौँ । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको रज्जुमार्ग (रोपवे सिस्टम)  लिलाम बिक्री गर्ने गरिने सूचना फेरि निकालिएको छ । लोडिङ स्टेसन मकवानपुरको भैंसेदेखि अनलोडिङ स्टेसन हेटौंडाको लामसुरेस्थित उद्योग परिसर सम्मको रोपवे सिस्टम बिक्रीका लागि लिलामीमा फेरि राखिएको हो ।
    निरन्तर घाटा बेहोर्दै आएको सरकारी सिमेन्ट उद्योगले आइतबार सूचना जारी यस्तो जनाएको छ । हेटौडा सिमेन्टले  ११.१८८ किलोमिटर लम्बाइको उक्त रोपवेको लिलामीका लागि योग्यता पुग्ने फर्महरुसँग प्रस्ताव आह्वान गरेको हो ।

    प्रस्ताव सार्वजनिक खरिद अनुगमनको कार्यालयमा विद्युतीय माध्यमबाट बुझाउन सकिने सूचनामा  जनाइएको छ।२० वर्षसम्म उद्योगका लागि चुनढुंगा ओसार्न प्रयोग भएको रोपवे २०६२ सालदेखि पूर्णरूपमा बन्द छ । राणाकाल विसं १९८२ मा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा मकवानपुरको धोर्सिङ–मातातीर्थ २२ किलोमिटर रोपवे लाइन निर्माण गरिएको थियो। रोपवेमार्फत धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी हुन्थ्यो।

    रोपवेले सजिलो भएको देखेर हेटौंडा सिमेन्टले पनि चुनढुंगा ओसार्न रोपवे सञ्चालनमा ल्याएको थियो। उद्योगको रोपवे त्यसबेला करिब १० करोड लगानीमा निर्माण भएको थियो। प्रतिघण्टा ३ सय मेट्रिक टन चुनढुंगा ढुवानी गर्ने क्षमताको रोपवेमा १६५ वटा बकेट क्यारियर(ढुवानी भाँडो) थिए। उद्योगले २०४२ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म रोपवेमा चुनढुंगा ढुवानी गरेको थियो।

    २०६० सालमा आएको बाढीपहिरोले भैंसेछेउ टावरमा क्षति गरेपछि उद्योगले मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने काम गरेन। रोपवेबाट कच्चा पदार्थ ढुवानी महँगो परेपछि उद्योगले ट्रकमा ओसार्न थालेकाले प्रयोगविहीन रोपवेका अहिले धेरैवटा बकेट झरिसकेका छन्। केही ठाउँमा माथिबाट खसेर जनधनको नोक्सान हुने जोखिम बढेको भन्दै उद्योगलाई हटाइदिन स्थानीयवासीले ज्ञापनपत्र पनि बुझाइसकेका  छन्।  

    यसअघि तीन पटक लिलामीको  प्रयास भईसकेको भएपनि  बिक्री हुन नसकेको हो ।उद्योगले पहिलोपटक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३ सय ५२ रुपैयाँ मूल्यांकन गरेको थियो ।  खरिदकर्ता नआएपछि दोस्रोपटक न्यूनतम मूल्य ४ करोड ६१ लाखमा झार्दा पनि बिक्री नभएको रोपवेको लिलामीको न्यूनतम मूल्य तेस्रोपटक २ करोड ८० लाख रुपैयाँ तोकिएको थियो । तर पनि बिक्री भएको थियो । हेटौडा सिमेन्टले रोपवे बिक्री गर्न यसपटक  ३१ दिनको समयावधि तोकेर फेरि सूचना जारी गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij