Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी

दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी

  •  

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताउनुभएको छ । उहाँले बजारमा अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल पनि सञ्चालन गरिएको जानकारी गराउनुभयो । 

     

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० युवा विद्यार्थी विशेष जिल्ला कमिटीको मन्त्रालयमा आज ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले विपद्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने बताउनुभयो । 

     

    “काठमाडौँमा आउने तरकारी छिमेकी जिल्लाहरु धादिङ, नुवाकोट, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट हो, बाढीपहिरोले एकातिर बाटो बन्द भयो, अर्कोतिर वर्षाले तरकारी खेतीमा नोक्सानी गर्यो, त्यसकारण केही दिन तरकारी आयात हुन समस्या भयो र केही मूल्य वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “विस्तारै तरकारी आयात भइरहेको छ, मन्त्रालयबाट महङ्गोमा तरकारी बेचेको पाइए कारबाही गर्न मातहतका निकायलाई निर्देशन भइसकेको छ ।”

     

    विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारी बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालो बजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं ११३७ मा खबर गर्न आग्रह गर्नुभयो । 

     

    उहाँले भन्नुभयो, “अमूर्तरुपमा कालोबजारी, अभाव र मूल्यवृद्धि भयो भन्ने गरिन्छ, कहाँ छ त्यसो भएको भनेर हामीलाई जानकारी गराउनुस्, हामी तत्काल ‘एक्सन’ लिएर ठाउँका ठाउँ कारबाही गर्छौं ।” व्यावसायिक शुद्धतासहित जनतालाई अत्यावश्यक वस्तुको उपलब्धताका लागि वाणिज्य मन्त्रालयबाट कुनै कसर बाँकी नराखिएको बताउनुभयो । 

     

    आधारभूत तहलाई दैनिक उपभोग्य वस्तुको सहज उपलब्धताका लागि मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । उहाँले हरेक अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कम्तीमा रु पाँचदेखि रु १० सम्म मन्त्रालय मातहतका बिक्री कक्षमा सस्तो मूल्य कायम गरिएको जानकारी गराउनुभयो ।

     

    मन्त्री भण्डारीले अत्यावश्यक वस्तुका रुपमा रहेको पानीको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिने जुनसुकै होटल तथा रेष्टुरेन्ट कारबाहीको दायरामा आउने र सो क्रम जारी रहेको बताउनुभयो । उहाँले छिट्टै राजमार्गका होटललाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया भइरहेको जानकारी गराउनुभयो । मन्त्री भण्डारी कम्तीमा पनि चारवटा होटल भएको ठाउँमा यात्रुवाहक सवारी साधन रोकिनुपर्ने र एकान्तमा सञ्चालन गरिएका होटल कारबाहीको दायरामा आउने बताउनुभयो ।

     

    एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य रमेश पौडेल, युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष रामजी सापकोटासहितको टोलीले विपद्जन्य अवस्था र चाडपर्वको मुखमा सहज आपूर्ति गर्नुपर्नेलगायत विभिन्न छबुँदे माग राखेर मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको थियो । साथै सो क्रार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेल उपस्थित हुनुहुन्थ्यो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij