Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना

  • काठमाडौँ । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न “नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज“ स्थापना गरिएको छ । सामाजिक सेवा मुलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी, तथा व्यवसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्धन गर्ने उद्देश्य राखेको छ। साथै, व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।

    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको कार्यालयको उद्घाटन जापानी दूतावासका मिशन उप–प्रमुख तामुरा ताकाहिरोले  गरेका छन् ।यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिनेछ, र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको जनाइएको छ । सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले रु. १०,००० शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन् । तर सदस्यता हस्तान्तरण गर्न भने सकिने छैन। संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिनेछ।

    यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २७ मा रहेको छ। चेम्बरको कोष सदस्यता शुल्क, अनुदान, तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिनेछ। कुनै संशोधन आवश्यक परेमा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिनेछ। नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले सबैमा सहकार्यका लागि अपिल पनि गरेको छ ।

    निप्पोन चेम्बरका अध्यक्षमा सौरभ ज्योति, उपाध्यक्ष रितु सिंह वैद्य, कोषाध्यक्ष तुषार धर तुलाधर, सचिव विजय सिंह वैद्य,  सुहिदराज घिमिरे ,दिनेश तुलाधर,  अंकुर झुनझुनवाला रहेका छन् भने सल्लाहकार सदस्य, पद्म ज्योति ,सुरज वैद्य  र त्रिभुवन धर तुलाधर रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij