Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

सरकारकै  मिलोमतोमा सिमेन्टको मूल्य निरन्तर वृद्धि

सरकारकै  मिलोमतोमा सिमेन्टको मूल्य निरन्तर वृद्धि

  • काठमाडौँ । सरकारकै सहमतिमा सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्यमा वृद्धि गर्न थालेको आरोप छ ।निर्माण व्यवसायीहरूले सिमेन्टको मूल्यमा भएको वृद्धिबारे गुनासो गर्दै आएको भएपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मौन बसेको हो ।सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्य डेढ महिनामै प्रति बोरा २२० रुपैयाँले बढाइसकेका छन्। डेढ महिनाअघि विराटनगरको खुद्रा बजारमा प्रति बोरा ६ सयमा पाइने ओपीसी सिमेन्ट हाल ८२० रुपैयाँ पर्न थालेको स्थानीय निर्माण व्यवसायीहरूले बताएका छन् ।

    उद्योगीले आपसी सहमतिमा सिमेन्टको मूल्य क्रमशः बढाउँदै आएका हुन्। उनीहरूले आगामी माघको अन्त्यसम्ममा ओपीसी सिमेन्टको खुद्रा मूल्य प्रतिबोरा  १ हजार रुपैयाँसम्म बनाउने योजना बनाएको बुझिएको छ। यही लक्ष्यका साथ उनीहरू हरेक हप्ता बोराको २५ देखि ५० रुपैयाँसम्म मूल्यवृद्धि गरिरहेको निर्माण व्यवसायीहरूको भनाइ छ ।

    निर्माण व्यवसायीहरूले गर्ने कामको मुख्य सिजन फागुनदेखि असारसम्मलाई मानिने गरिएको छ । मौसम आउन लागेको देखेर सिमेन्ट उद्योगीहरूले मूल्य वृद्धि गर्न लागेका हुन् ।यस्तै रहे सिमेन्टको प्रतिबोरा मूल्य मुख्य सिजनले गति लिने बेला एक हजार पुग्नु सामान्य कुरो हुने छ ।

    निर्माण व्यवसायीहरूका अनुसार डेढ महिनाअघि ओपीसी सिमेन्टको कारखाना मूल्य ५०० रुपैयाँ भुक्तानी गरेको र अहिलेको मूल्य ७२० पुगेको छ । ढुवानी र लोडिङ–अनलोडिङ खर्च पनि जोड्दा  हार्डवेयर पसलसम्म जाँदा सिमेन्टको परल मूल्य नै ८०० रुपैयाँसम्म पर्ने देखिएको छ ।यस्तै जानकारी दिँदै खुद्रा पसल संचालकले यही सिमेन्टलाई प्रति बोरा घटीमा ८२० रुपैयाँले बिक्री गरिरहेका छन्।

    सम्बद्ध स्रोतका अनुसार  सिमेन्ट उद्योगले आपसी सहमतिमा प्रत्येक उद्योगलाई उत्पादनको कोटा तोकिदिएका छन्। उद्योगले आफूले पाएको कोटा अनुसारको परिमाणमा मात्र उत्पादन गर्न पाउने हो ।उत्पादन–क्षमता र पहिलेको बिक्री हेरेर उद्योगपिच्छे बिक्रीको पनि कोटा तोकिएको छ । यसका कारण बजारमा सिमेन्टको आपूर्तिमा कमी आएको छ र अभाव समेत सुरु भएको छ।

    उपभोक्ताले आफूले भने जति र चाहेजति सिमेन्ट खरिद गर्न नपाएको अवस्था छ । धेरै  परिमाणमा माग आए सिमेन्ट पाउन दुई हप्तासम्म कुर्नुपर्ने स्थिति बनिसकेको छ । सिमेन्ट उत्पादकहरूले कतै उत्पादन सीमा भन्दा बढी उत्पादन त गरिरहेका छैनन् त्यसको निगरानी संयन्त्र सिमेन्ट संघले बनाएको सम्बद्ध स्रोतको भनाइ छ ।उत्पादन बढाउन चाहनेलाई क्लिंकर आपूर्तिमा पनि बाधा उत्पन्न गरिएको छ ।

    निर्माण व्यवसायीहरूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई गुनासो गरेका थिए । यसबारे सरोकारवाला पक्षहरूबाट विरोध भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीले उद्योगीसँग बैठक पनि गरेका थिए । बैठकमा सिमेन्टको खुद्रा मूल्य  मूल्य ७०० र पीपीसीको ६०० भन्दा वृद्धि नगर्ने सहमति भएको हप्ता दिनमै प्रति बोरा ४० रुपैयाँले मूल्यवृद्धि गरिएको देखियो ।निर्माण व्यवसायी सम्बद्ध एक व्यवसायीले सरकारले नै सिमेन्टको मूल्य वृद्धि गर्न लगाएको आरोपलाई समर्थन गरेका छन् । 

    सरकारकै मिलोमतोमा सिमेन्ट उद्योगले मूल्य नबढाएको हो भने मन्त्रालयको सहमति मान्नु पर्ने थियो नी उनले बताए ।सिमेन्ट उद्योगले मूल्य वृद्धिको निरन्तरता दिन थालेको विषयमा उद्योगमन्त्रालयले केही पहल गरिरहेको छ कि भनी प्रवक्ता बाबुराम अधिकारीलाई फोन गर्दा फोन उठेको थिएन् ।मन्त्रालय स्रोतका अनुसार यो मुद्दा अझ चर्किने भएको छ । सरकारकै मिलोमतोमा मूल्य वृद्धि भएपछि त्यसै समाधान हुने कुरो नभएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij