Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

एसियाली विकास बैंकको नेपालका लागि चारवर्षे  रणनीतिक कार्ययोजना सार्वजनिक

एसियाली विकास बैंकको नेपालका लागि चारवर्षे  रणनीतिक कार्ययोजना सार्वजनिक

  • काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी)को नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीतिक कार्यायोजना सार्वजनिक भएको छ ।

    अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले काठमाडौंमा आयोजना गरेको १५औँ सदस्य प्रशिक्षण कार्यक्रममा एडीबीका देशीय सञ्चालन प्रमुख अर्नोड हेकम्यानले चार वर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
    एडीबीले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीन वटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेको अमेरिकन चेम्बर अफ कमर्सले जनाएको हो ।

    उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवद्र्धन, समावेशी र गुणस्तरीय मानव पूँजी विकास तथा सार्वजनिक सेवा प्रवद्र्धन र वातावरणीय दिगोपन तथा जलवायु सहनशीलता अभिवृद्धि रहेको एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले जानकारी सार्वजनिक गरेका हुन् ।

    हाल नेपालमा सवा ४ अर्ब अमेरिकी डलर भन्दा बढी लगानीमा एडीबीले विभिन्न ३२ परियोजना सञ्चालन गरिरहेको छ । ती परियोजना मार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडीबीले जनाएको छ ।

    सोही अवसरमा एडीबीका नेपालस्थित आवासीय निर्देशक अर्नोड काउचोइसले एडीबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी दिएका थिए ।

    नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बैंकले नेपालको विकासमा निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारका रूपमा व्याख्या गर्दै सूचना प्रविधि (आईसीटी), ऊर्जा तथा पर्यटन क्षेत्रमा विशेष ध्यान दिइरहेको जनाए ।

    उनले बैंकमार्फत नेपालमा पूर्वाधार विकास र खर्च बढाउँदै आर्थिक समृद्धिको आधार निर्माण भएको विश्वास व्यक्त गरे । यद्यपि, सन् २०१८ यताका वर्ष खर्चमा धेरै कमी आएको उनको भनाइ छ ।
    बैंकले आर्थिक वर्ष २०२३÷२४ मा खर्च कार्यान्वयन दर ८० प्रतिशतभन्दा तल झरेको र यो प्रवृत्ति आर्थिक विकासमा चुनौती हुन सक्ने चिन्ता जाहेर गरेको छ । पर्यटन, घरजग्गा, व्यापारजस्ता सेवा क्षेत्र आर्थिक वृद्धिका प्रमुख चालक बन्ने पूर्वानुमान गरिएको छ ।

    कार्यक्रममा अमेरिकी दूतावासका आर्थिक तथा व्यापारिक अधिकृत ड्यारिन क्रिस्टेन्सेनले एमच्याम नेपालद्वारा आयोजना गरिएको यो क्रमबद्धताले अमेरिकी कम्पनीलाई नेपालमा व्यवसाय विस्तार गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    एडीबी र विश्व बैंक समूहका परियोजनाले नेपालका सूचना प्रविधि, ऊर्जा तथा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने भन्दै उनले यी संस्थाहरूको उपस्थितिको प्रशंसा गरे ।
    नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रमुख वाणिज्य अधिकृत सिआओबिङ फेङले नेपाली तथा अमेरिकी व्यवसायीलाई आपसी साझेदारीमा जोड्न आफूहरू प्रतिबद्ध रहेको बताए । 

    एमच्याम नेपालका महाप्रबन्धक थापाले नेपाललाई व्यापार र लगानीको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न संस्था प्रतिबद्ध रहेको बताए । एमच्यामले अमेरिकी व्यवसाय समुदाय र नेपाल सरकारबीचको पुलको काम गरिरहेको बताए ।

    यसमार्फत उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना र नेपाल–अमेरिका द्विपक्षीय व्यापार सशक्त बनाउन योगदान पु¥याउनेमा उनको  विश्वास छ ।एमच्याम नेपाल स्वतन्त्र उद्यम प्रवद्र्धन, अमेरिकी व्यावसायिक मूल्यको रक्षा र नेपालको आर्थिक रूपान्तरणमा केन्द्रित रहेको बताउँदै उनले पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादन, सेवा क्षेत्र, तथा कार्बन व्यापारजस्ता नयाँ क्षेत्रमा अमेरिकी लगानीले नेपालको आर्थिक सम्भावना खुला गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको बताए ।

    कार्यक्रममा एमच्याम नेपालका सदस्य कम्पनी तथा साझेदार संस्था, अमेरिकी दूतावास, क्षेत्रीय अन्तर्राष्ट्रिय व्यापार प्रशासक लगायत सहभागी थिए । एमच्यामको यस प्रशिक्षण शृंखलाले नेपालमा अमेरिकी लगानीको सम्भावना अभिवृद्धि गर्न तथा आर्थिक साझेदारी थप मजबुत बनाउने  विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij