Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

चालु आवको ९ महिनामा करिब ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

चालु आवको ९ महिनामा करिब ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

  • काठमाडौँ । चैत मसान्त अर्थात् चालु आर्थिक वर्ष (आव)को ९ महिनामा वैदेशिक लगानीको प्रतिबद्धता करिब ५८ अर्ब बराबर भएको देखिएको छ । चालु आवको साउनदेखि चैतसमान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो  । 

    उद्योग विभागले एक तथ्यांक सार्वजनिक  गरी यस्तो जनाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा करिब दोब्बरले वृद्धि भएको देखिन्छ । गत वर्षको सोही अवधिको तुलनामा २७ अर्ब ८५ करोड ६९ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड ८५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो। 

    गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट विभागले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।  उक्त प्रणाली कार्यान्वयनमा आएसँगै आर्थिक वर्षको ९ महिनामा विदेशी लगानी प्रतिविद्धतामा वृद्धि भएको देखिएको हो । 

    विभागको तथ्याङ्क अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्रुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । अटोमेटिक रुटबाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख र अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको जनाइएको छ ।

    तथ्यांकअनुसार चैत महिनामा मात्रै १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्रै ५३ उद्योगका लागि १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको देखिन्छ । तीमध्ये प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २३ उद्योगका लागि १३ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यसैगरी  स्वचालित प्रणालीबाट ३० उद्योगका लागि १४ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको जनाइएको  छ ।

    चालू आवमा अहिलेसम्म सबैभन्दा बढी फागुनमा १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको देखिन्छ । आर्थिक वर्ष २०७८÷७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो।चालु आवको ९ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यसैगरी ५१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।

    ९ महिनाको अवधिमा ४६८ वटा साना उद्योग, ८ वटा मध्यम र ४ वटा ठुला उद्योगका लागि लगानी प्रतिबद्धता आएको जनाइएको छ। ९ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १२ हजार ४३५ जनाले रोजगारी पाउने जनाइएको छ ।प्रतिबद्धता अनुसार सेवामुलुक क्षेत्रमा उच्च लगानी हुने देखिन्छ ।

    विभागका अनुसार ९ महिनाको अवधिमा सेवा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता प्राप्त भए अनुसार  कुल लगानी प्रतिबद्धतामध्ये सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड ७७  लाख प्राप्त भएको छ । यो क्षेत्रका ६३ वटा उद्योगका लागि यो प्रतिबद्धता आएको हो ।

    यसैगरी  पर्यटन क्षेत्रका १८९ वटा उद्योगहरुका लागि १८ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादन मुलुक क्षेत्रका ३४ उद्योगका लागि २ अर्ब ७४ करोड २० लाख, सूचना प्रविधि क्षेत्रका १८५ वटा उद्योगका लागि १ अर्ब ११ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको जनाइएको छ  । विभागका अनुसार ऊर्जा क्षेत्रमा २५ करोड ५० लाख, कृषिमा ७६ करोड १० लाख तथा पूर्वाधार क्षेत्रका उद्योगमा २ करोड बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

    पर्यटन क्षेत्रका १८९ उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका १८५ उद्योगका लागि प्रतिबद्धता आएको छ ।  उद्योग विभागका अनुसार हालसम्म ६ हजार ८७८ उद्योगका लागि कुल ५ खर्ब ७७ अर्ब ३१ करोड ७९ लाख ७० हजार रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    विभागको सार्वजनिक तथ्याङ्क अनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ९ महिनामा २ हजार ५५५ जना लगानीकर्ताले यस्तो बिजनेस भिसाको सिफारिस माग गरेका छन् ।  अघिल्लो आवको सोही अवधिमा १ हजार ७२० सय जनाले यस्तो भिसा माग गरेका थिए । चैत महिनामा मात्रै १४८ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् ।

    ९ महिनाको अवधिमा वैदेशिक लगानीकर्ताले रोयल्टी मार्फत ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबर फिर्ता लगेका छन् । गतवर्षको सोही अवधिमा ९ अर्ब १ करोड ८४ लाख ४७ हजार रुपैयाँ बराबरको रकम रोयल्टी बापत फिर्ता लगेका थिए । यो चैतमा मात्रै ४८ करोड १३ लाख रुपैयाँ रोयल्टी लगेको विभागको तथ्याङ्कमा जनाइएको  छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij