
काठमाडौँ । विभिन्न देशका मुद्रा गरी २५ करोड रुपैयाँ बोकेको कन्टेनरका मालिक नारायाण पौडेललाई तीन वर्षको जेल सजाया र ७५ करोड रुपैयाँ जरिवाना हुने भएको छ । लुकाइ छिपाइ लाँदै गरेको २५ करोड लोड गरिएको टोखामा समातिएको कन्टेनर(ट्रक)को अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले टोखामा समातिएको उक्त ट्रकबाट बरामद गरिएको २५ करोडका मालिक पौडेललाई ठहर गरी जिल्ला अदालत काठमाडौँमा मंगलबार दायर ग¥यो ।
गत वर्ष चैत ४ गते काठमाडौँ जिल्लाको टोखा नगरपालिका वडान २स्थित झोर सडकबाट ना ७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको थियो ।टोखादेखि झोरतर्फ गइरहेको उक्त ट्रक नियन्त्रणमा लिइरहेका बेला उक्त मुद्दामा प्रतिवादी बनाइएका कुन्साङ लामाले चलाइरहेका थिए । ट्रक नियन्त्रणमा लिइएर खानतलाशी गरियो । खानतलाशी गर्दा चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइएको पाइयो । फल्स बटम बनाइ लुकाइ राखेको युरोपियन युनियनको मुद्रा युरोका विभिन्न दरका नोटहरू बरामद भए । युरोका नोटहरू ५सय, २सय, १सय र ५० दरका थिए । यी विभिन्न दरका नोट गरी कुल १३ लाख ७५ हजार १ सय ५० बराबरका थिए । त्यसमै अमेरिकी डलरका १सय र ५० दरका नोटहरू थिए । बरामद गरिएका अमेरिकी डलरका नोटहरू कुल ३ लाख बीस हजार आठ सय पचास बराबर रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
विदेशी मुद्रासहितको उक्त ट्रक र ट्रक चलाइरहेका चालक कुन्साङ लामा पक्राउ परेदेखि नोटका मालिक पौडेल फरार छन् । ट्रक र विदेशी नोटसहित पक्राउ परेका लामालाई हिरासतमा राखी अनुसन्धान गरियो ।लामाको मोबाइल, मोबाइलसम्पर्क र बयानबाट नोटका मालिक नारायण पौडेल यकिन गरियो । नारायण पौडेलको स्थायी घर सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा न ४ हो । तर पौडेल टोखा नगरपालिका वडा न १० बस्ने गरेका छन् । उनै पौडेल विरुद्ध २५ करोडको मालिक अनुसन्धानबाट यकिन गरी राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौँले गत चैत ४ गते पक्राउ परेका फुच्चे भनिने कुन्साङ लामा, ट्रक र विदेशी नोटसमेतलाई राजस्व अनुसन्धान विभागमा च न १६४२६को पत्रसाथ चैत ५ गते बुझाएको थियो ।
विदेशी विनिमय (नियमित गर्ने ऐन) २०१९को दफा ३,४,५ र ९ को कसूरमा बरामद गरिएको नोटहरूलाई चैत ४ गते नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दर अनुसार हुन आउने नेपाली रुपैयाँ २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।सोही ऐनको दफा १७को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा १७को उपदफा (९) बमोजिम थप सजायको माग दाबी गरिएको छ ।
विभागले गरेको माग दाबी अनुसार २५ करोड रुपैयाँ जफत भइ जरिवाना ७५ करोड र जेल सजाय ३ वर्ष हुने छ । विभागले जिकिर लिएका दफाहरूमा यस्तो जरिवाना र सजाय हुने उल्लेख छ ।
दफा १७को उपदफा (१)मा भनिएको छ ‘ यो ऐन वा यस ऐन अन्तर्गत जारी भएको आदेश वा निर्देशन वा परिपत्र वा सूचना वा बैंकले तोकिदिएको कुनै प्रक्रिया विपरीत कुनै व्यक्तिले कुनै काम गरेमा सो काम गरेबापत भएको कसूरसँग सम्बन्धित विदेशी विनिमय जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिवाना देखि बिगोको तीन गुणासम्म थप जरिवाना हुनेछ ।’
यसैगरी दफा १७को उपदफा (९)म भनिएको छ ‘ यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशी विनिमयसँग सम्बन्धित कसूरको बिगो रकम एक करोड रुपैयाँ वा सो भन्दा बढी भएमा त्यस्ता व्यक्तिलाई हुने कसुर अन्य सजायका अतिरिक्त तीन वर्ष कैदसम्मको सजाय समेत थप हुने छ ।यसरी पौडेललाई तीन वर्ष भन्दा बढीको जेल सजाय हुने देखिएको छ ।
यसैगरी सो मुद्दामा प्रतिवादी बनाइएका ट्रक चालक लामालाई पौडेललाई हुने सजाय जरिवाना हुने भएको छ । तर लामाका हकमा अन्य सजाय र जरिवाना थप हुने भएको छ । यसअघि प्रतिवादी लामालाई काठमाडौँ जिल्ला अदालतबाट २०७४ असार २६ गते सुन चोरी पैठारी मुद्दामा सजाय भएको थियो । सो अनुसार पाँच वर्ष भित्र लामाको यो कसूर भएकोले यसको सजाय उक्त सजायको दोब्बर जेल सजाय हुने भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij