Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्तिको विशेष दिन, मातातीर्थमा भक्तजनको भीड

आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्तिको विशेष दिन, मातातीर्थमा भक्तजनको भीड

  • काठमाडौं।जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र आदर व्यक्त गर्दै आज देशभर मातातीर्थ औँसी मनाइँदैछ। हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस दिनलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ का नामले पनि चिनिन्छ।

    पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. वासुदेव कोइरालाका अनुसार आजको दिन बिहानै स्नान गरी आमालाई मिठा परिकार खुवाउने, उपहार दिने र आशिर्वाद लिने परम्परा छ। आमा दिवंगत भएका सन्तानहरूले भने श्राद्ध गरी आमाप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन्।

    यद्यपि आमाको सम्मान वर्षभर गरिनुपर्ने भए पनि आजको दिन सांस्कृतिक रूपमा विशेष मानिन्छ। “शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा ठूलो मानिएको छ,” डा. कोइराला भन्छन्, “त्यसैले पनि मातातीर्थ औँसीको आफ्नै महत्व छ।”

    घरबाट टाढा रहेका धेरैले आजको दिन आमाको मुख हेर्न घर पुग्ने गर्छन् भने नपुग्नेहरूले फोनमार्फतै आमालाई सम्झने गर्छन्। पछिल्लो समय सामाजिक सञ्जालमार्फत आमाको तस्वीर राखी सम्मान प्रकट गर्ने चलन पनि बढ्दो छ।

    यसै अवसरमा काठमाडौंको थानकोटस्थित प्रसिद्ध मातातीर्थ क्षेत्रमा आज विशेष मेला लागेको छ। बिहानैदेखि दर्शनार्थीको भिड लागिरहेको छ। कतिपय भक्तजन शनिबार राति नै दीप प्रज्वलन गरी जाग्राम बसेका थिए। आज बिहानै स्नान गरी पूजा–अर्चना गरिएको छ।

    स्थानीय विश्वास अनुसार मातातीर्थको कुण्डमा स्नान गरी पूजा गरेमा दिवंगत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ। विशेषगरी आमा गुमाएका सन्तानहरूले यहाँ हरिहर (विष्णु र शिव) को पूजा गर्ने गर्छन्। धर्मशास्त्रअनुसार कम्तीमा एक पटक भए पनि मातातीर्थमा गई श्राद्ध गर्नु पर्ने मान्यता रहँदै आएको छ।

    मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। यस्तै, भक्तपुरका नेवार समुदायले हनुमानघाटमा आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने परम्परा निर्वाह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij