
काठमाडौं । बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबर क्षति भएको छ । अस्पताल प्रशासनले आगलागीका कारण आइतबार र सोमबार आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको जनाएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले जनाए अनुसार शनिबार ओपीडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएपछि ओपीडी सेवा र ल्याब सेवा दुई दिनका लागि बन्द गरिएको हो ।
विद्युत सर्ट सर्किट भई आगलागी भ्याक्सिन राख्ने फ्रिजबाट शुरु भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट तर आगलागीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण पत्ता लगाउन डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ । समितिलाई चाँडो प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगो निभाइसकेपछि बिल्डिङभित्र पानी र जलेका सामानहरू छरपस्ट रहेकाले दुई दिन आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij