
भुवनेश्वरस्थित विश्वविद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परिन् वीरगन्जकी १९ वर्षीया प्रिशा साह
भुवनेश्वर।भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा पुनः एक नेपाली छात्राको मृत्यु भएको छ। बिहीबार साँझ सो विश्वविद्यालयको छात्रावास ‘QC-4’ को कोठामा १९ वर्षीया प्रिशा साह झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
प्रिशा बीटेक कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ (CSE) को पहिलो वर्षमा अध्ययनरत थिइन्। उनी वीरगन्ज महानगरपालिका–१५ की स्थायी बासिन्दा हुन् भने उनको स्थायी घर सर्लाहीको मलंगवा हो। उनका बुवा श्याम साह स्थानीय व्यापारी हुन्।
छात्राकी परिवारका सदस्यका अनुसार बिहीबार दिउँसो ३ बजेतिर प्रिशाले घरमा फोन गरेर मे १८ मा घर फर्किने बताएकी थिइन्। तर, सोही दिन राति करिब ९ बजे कलेज प्रशासनबाट फोन गरी प्रिशाको मृत्युको खबर दिइएको थियो।
दिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ। दूतावासका अनुसार मृतकका आफन्त विश्वविद्यालय आइपुगेपछि मात्रै पोस्टमार्टम प्रक्रिया सुरु गरिनेछ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
यसअघि गत फागुन महिनामा बुटवलकी २० वर्षीया प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो। सो घटनापछि नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनमाथि लापरवाहीको आरोप लगाउँदै आन्दोलन गरेका थिए।
प्रदर्शनका क्रममा विश्वविद्यालयका सुरक्षागार्ड र कर्मचारीहरूले नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै बाहिर निकालेका थिए। त्यस क्रममा ५०० भन्दा बढी विद्यार्थीहरू भारत–नेपाल नाकाबाट घर फर्किएका थिए। चर्को आलोचना र विरोधपछि विश्वविद्यालयले माफी माग्दै विद्यार्थीहरूलाई पुनः फर्कन आग्रह गरेको थियो।
प्रकृति लम्सालको घटनामा एक जनालाई पक्राउ गरिएको थियो भने ओडिसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको थियो।
केही महिनाको अन्तरालमै दोहोरिएको यस्तो घटनाले कीट विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। विद्यार्थी तथा अभिभावकहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै भारतस्थित नेपाली नियोगहरू र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij