
काठमाडौं । संयुक्त राष्ट्रसंघले भारत सरकारद्वारा पाकिस्तान र पाकिस्तान प्रशासितकाश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरिएपछि औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका हुन् ।
भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गर्दै ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’ महासचिवले भनेको दुजारिकले भने ।
यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए।उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए। स्मरणीय छ भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij