
काठमाडौँ । सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा केही सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका योजनालाई समर्थन गर्नुभएको छ भने केहीले यसमा थप गृहकार्यको आवश्यकता रहेको धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले विगतमा घोषणा हुने, लागू गर्न नसकिने नीति तथा कार्यक्रम आउनेमा आगामी वर्षको नीति तथा कार्यक्रम पूरा गर्न सकिने किसिमका आएका बताउनुभयो । उहाँले भन्नुभयो, “स्टार्टअप र जेनजीको विषय कार्यान्वयनमा लैजान आवश्यक छ । राजश्व उठिरहेको छैन । राजश्व उठाउनका निम्ति कर नीति, आर्थिक तथा वाणिज्य कानुनलाई पनि व्यवस्थापन गर्नुपर्ने जरुरी देखिन्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद मनबहादुर गुरुङले नीति तथा कार्यक्रम वस्तुनिष्ठ र समय सान्दर्भिक भएको बताउनुभयो । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलाई नीति तथा कार्यक्रमले जोड दिएको छ । अर्थतन्त्रलाई गतिशील बनाउन खोजेको छ । विकास र सुशासन कायम गर्नेमा सबैजना अघि बढ्नुपर्ने विषय समावेश छ”, उहाँले भन्नुभयो ।
उहाँले उद्यमशीलता विकास गर्ने भनिए पनि यसबारे ठोस कार्यक्रम भने नसमेटिएको बताउँदै विदेश पलायन रोक्ने र देशमा रोजगारीको अवसर सिर्जना गर्ने विषय कार्यक्रममा बढी जोड दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद असिम शाहले पुरानै दस्तावेजको निरन्तरतालाई यो नीति तथा कार्यक्रमले पछ्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो अपेक्षा र तामझामकासाथ नीति तथा कार्यक्रम ल्याइन्छ तर अन्त्यमा परिणाम शून्य हुन्छ । रुग्ण उद्योग सञ्चालन गर्ने भनिन्छ तर घोषणामा सीमित हुन्छ । भ्रष्टाचार शून्य सहनशीलता अपनाउने भनिन्छ तर ठूलो भ्रष्टाचारको विषय सेलाउँदै जान्छ । सुन्नमा नयाँपन तथा देखाउने दाँत मात्र बनेको छ यो नीति तथा कार्यक्रम ।”
उहाँले चलचित्र उद्योग रचनात्मक तथा रोजगारी सिर्जना गर्न सक्ने र कला, संस्कृति पर्यटनको सम्भावनाको महत्त्वपूर्ण आधार भएकाले आगामी बजेटमा यस क्षेत्रलाई सम्बोधन गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले नीति तथा कार्यक्रमले नवप्रवर्द्धनका कार्यक्रम समेट्न नसकेको धारणा व्यक्त गर्नुभयो । “आशालाग्दो योजना आएको देखिएन । देशको अर्थतन्त्र खस्किँदो अवस्थामा छ, यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्लता त रु देशमा व्याप्त बेरोजगारी अन्त्य गर्ने योजना देखिएन । स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न र युवा पलायन रोक्न खोइ त योजना रु”, उहाँले प्रश्न गर्नुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij