Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २५ बिहीबार  मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २५ बिहीबार  मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २५ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सोपन फार्मास्युटिकल्सको आइपीओ तयारी : आम्दानीमा वृद्धि, तर उत्पादन क्षमता न्यून उपयोग

    काठमाडौँ । सोपन फार्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको आम्दानी अघिल्लो वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। २०२४ मा १५ करोड २० लाख र २०२३ मा १४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले २०७९ सालपछि कारोबार विस्तार गर्दै आएको छ। यसले कम्पनीको व्यापार सुधार भइरहेको संकेत गर्छ।

    बैंक ऋणको सन्दर्भमा, सोपनले ६९ करोड १४ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ। यसमध्ये लामो अवधिका लागि ५४ करोड ६४ लाख कर्जा  र छोटो अवधिका लागि १४ करोड ५० लाख कर्जा ‘ऋब्च्भ् ल्ए ब्द्ध’ रेटिङमा परेको छ। यद्यपि रेटिङमा सुधार देखिए पनि,  श्रेणीका कम्पनीहरूलाई समयमै वित्तीय दायित्व पुरा गर्न अझै पनि उच्च जोखिमयुक्त मानिन्छ।

    अपर सोलु हाइड्रो इलेक्ट्रिकको नाफामा १९६% वृद्धि, विद्युत बिक्री बढ्दा र वित्तीय खर्च घट्दा सुधार

    काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ करोड १४ लाख रुपैयाँ नाफाको तुलनामा १९६.१३ प्रतिशतले वृद्धि भएको हो।
    कम्पनीको विद्युत बिक्री आम्दानी ५५ करोड ४० लाख रुपैयाँबाट ५८ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जसले समग्र आम्दानीमा सकारात्मक प्रभाव पारेको छ।
    वित्तीय खर्च २८ करोड ६२ लाख रुपैयाँबाट घटेर २२ करोड ७ लाख ५२ हजार रुपैयाँमा झरेको छ, जसले नाफामा उल्लेखनीय सुधार ल्याएको छ।

    उपकार लघुवित्तको तेस्रो त्रैमासमा नाफा २०६% ले उकालो, प्रतिसेयर आम्दानी रु. २८.११ पुग्यो

    काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। संस्थाको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २०६.६६ प्रतिशतले वृद्धि भई २ करोड २३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७२ लाख ९८ हजार रुपैयाँभन्दा तीन गुणा बढी हो।
    संस्थाको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले बढेर १० करोड ६८ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो ९ करोड ४१ लाख रुपैयाँ थियो। सञ्चालन नाफा पनि १५९.६७ प्रतिशतले वृद्धि भई २ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ८५ लाख ५३ हजार रुपैयाँ थियो।

    शेयर बजार : नेप्से परिसूचकमा १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा, ११ अर्ब ६५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा आएको छ । आज ११ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्क सर्किट लेबलमा कारोबार भएका छन् ।
    यस दिन ३ सय १५ कम्पनीको ३ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र युनिभर्सल पावर परेका छन् ।

    सूर्योदय वोमी लघुवित्तको नाफामा २४३% वृद्धि, तेस्रो त्रैमासमा ७ करोड ८६ लाख नाफा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा २४३.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा संस्थाले २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

    खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ — ३७ करोड ८७ लाख रुपैयाँबाट बढेर ४८ करोड ५९ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा आएको यस वृद्धिले नाफामा सकारात्मक प्रभाव परेको हो। त्यस्तै, इम्पेयरमेन्ट चार्ज घटेकोले पनि मुनाफा वृद्धि सहज भएको देखिन्छ।

    अभियान लघुवित्त २ करोड २५ लाख नाफामा, गत वर्षको नोक्सानीबाट सकारात्मक मोड

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ। गत वर्ष सोही अवधिमा २ करोड २३ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।

     

    नाफामा सुधारको प्रमुख कारण कम्पनीको खुद सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हो। गत वर्ष ६ करोड ११ लाख रुपैयाँ रहेको आम्दानी यो वर्ष १४ करोड ३६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यद्यपि, कम्पनीको वितरणयोग्य नाफा अझै ५ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    छ्याङ्दी हाइड्रोपावरले ल्यायो शतप्रतिशत हकप्रद शेयर, बुक क्लोज मिति तय

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आगामी जेठ २ गते बुक क्लोज गर्ने भएको छ। कम्पनीले यसअघि वैशाख १२ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको स्वीकृति प्राप्त गरिसकेको थियो। यद्यपि, शेयर निष्कासनको मिति भने अझै तय गरिएको छैन।

     

    बुक क्लोजको आधारमा, जेठ १ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीका आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

    बोटलर्स नेपालका कम्पनीहरूका नाफामा ठूलो गिरावट, तर जगेडा कोषमा सुधार

    काठमाडौं । बोटलर्स नेपालका दुबै कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमास ९९ महिना० सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार, बोटलर्स नेपाल (तराई) ले ९ महिनामा ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६९.१० प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    उक्त अवधिमा कम्पनीको कुल आम्दानी पनि घटेको देखिन्छ — ५ अर्ब ८१ करोड रुपैयाँबाट घटेर ४ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ। यद्यपि, कम्पनीले वित्तीय खर्चमा कटौती गर्न सफल भएको छ, जुन २० करोड १२ लाख रुपैयाँबाट घटेर १३ करोड ९६ लाख रुपैयाँमा झरेको हो।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । 

     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

    राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा राजस्व चुहावट कसुरमा भान्जा स्टोर्स एण्ड हाउसका प्रोपराइटर बरकत अलि मियाँ विरुद्ध ३ करोड बढीको मुद्दा दायर

    काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट कसुरमा भान्जा स्टोर्स एण्ड हाउसका प्रोपराइटर बरकत अलि मियाँ विरुद्ध ३ करोड बढीको मुद्दा दायर गरेको छ ।बुटवल उपमहानगरपालिका वडा न ७ राधाकृष्ण पथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोपराइटर मियाँ विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा वैशाख २५ गते अभियोग पत्र दायर गरेको हो ।

     

    उक्तफर्मले  फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नू, पेश गरेको मूल्य अभिवृद्धि कर विवरण भन्दा अधिक मौज्दात पसल तथा गोदामबाट फेला पर्नु, मौज्दात किताब भन्दा बढी फेला परेको मालवस्तु चोरी पैठारी गरी ल्याएर बिक्री गर्नु, कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई प्रचलित कानुन अनुसार  नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर नबुझाइ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार कसुर गरेको ठहर गरी मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागको विज्ञप्तिमा जनाइएको छ ।

    कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

    न्यूयोर्क ।कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ । 

     

    प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप हुँदा दुई सुरक्षा अधिकारीहरू घाइते भएका थिए । सावधानी अपनाउनको लागि ‘फायर अलार्म’ बजाइएको थियो ।

    न्यूयोर्क प्रहरीले साँझ ६ बजेतिर कोलम्बिया विश्वविद्यालयमा प्रवेश गरी पक्राउ गरेको जनाएको छ । 

    ‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’ : उद्योगमन्त्री दामोदर भण्डारी

    काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

     

     

    नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना एवं ललितपुर उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग महासङ्घको सहआयोजनामा आजदेखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को दशौँ संस्करणलाई उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।

    लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं लोकतान्त्रिक आन्दोलनका योद्धा तीर्थराम डङ्गोलको निधनले सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

     

     

    स्व नेता डङ्गोलको १३औँ पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले आज आयोजना गरेका श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले सादगी एवम् कर्मठ योद्धाको निधनले पार्टीका लागि मात्रै नभई सिङ्गो देश र समाजका लागि ठूलो क्षति भएको बताउनुभयो ।

    पूर्व सचिवहरूलाई सफाइ दिएको विशेषको पेमेन्ट गेट वेसम्बन्धी फैसला विरुद्ध अख्तियारद्वारा पुनरावेदन

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु मधुकुमार मरासिनी, सञ्जय शर्मा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललगायतलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने विशेष अदालतको फैसला उपर  प्रश्न उठाई सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । विशेष अदालतले  उनीहरु भ्रष्टाचारमा संलग्न भएको प्रमाणहरु हुँदाहुँदै पनि त्रुटिपूर्ण ढंगले  सफाई दिएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij