Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध

  •  

     

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सञ्जयकुमार गौतमले समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्र र किसानलाई बिर्सेको टिप्पणी गर्दै मल, बीउको उचित प्रबन्धसहित  खाद्यउपजमा आत्मनिर्भर बन्ने सोचका साथ आगामी आवको बजेट प्रस्तुत गर्न अनुरोध गर्नुभयो । 

     

    उहाँले व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रित गर्दै स्वदेशमै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्नेगरी आगामी आवको बजेट ल्याउन अनुरोध गर्नुभयो ।

     

    सांसद भगवती चौधरीले विनियोजन विधेयकले ऊर्जा, पूर्वाधार क्षेत्रको विकासमा जोड दिँदै बजेटलाई थप यर्थाथवादी बनाउन सुझाव दिनुभयो । सूचना प्रविधि, कृषि, पर्यटलाई विशेष प्राथमिकतामा राख्न पनि उहाँले आग्रह गर्नुभयो ।

     

    सांसद सूर्यमान दोङले कृषि, पर्यटन, जलविहारमा समेत सहयोग गर्ने सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक बजेटसहित अघि बढाउन अनुरोध गर्नुभयो ।

     

    सांसद शिशिर खनालले बजेट विनियोजन, कार्यान्वयन र प्रगतिका विषयमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै सूचना प्रविधि क्षेत्रलाई विस्तार र सहजीकरण गर्नुपर्नेमा थप कर लगाइएको, प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण निर्माण हुन नसकेको र सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थित र पारदर्शी नभएकाले त्यसतर्फ ध्यान जाओस भन्नुभयो ।

     

    सांसद रामकृष्ण यादवले मुलुकको भौगोलिक विविधतालाई सम्बोधन गर्दै आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्न सुझाव दिनुभयो । उहाँले नीति तथा कार्यक्रममा ठूला, पूर्वतयारी भएका र लगानी ढाँचा तय भएका आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिनु सकारात्मक पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।

     

    उहाँले कृषि क्षेत्रको प्रवद्र्धनका लागि देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्न, गुणस्तरीय मल बीउको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij