
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ३१ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
बुटवल पावरलाई न्यादी हाइड्रोपावरको सेयर बिक्री स्थगन गर्न धितोपत्र बोर्डको निर्देशन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीलाई न्यादी हाइड्रोपावरको सेयर बिक्री प्रक्रिया तत्काल स्थगन गर्न निर्देशन दिएको छ। बुटवल पावरले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने घोषणा गरेको थियो। तर सो कम्पनीका केही सञ्चालकहरू न्यादी हाइड्रोपावरमै सञ्चालक रहेका कारण हितसम्बन्धको सम्भावित द्वन्द्व देखिएको भन्दै बोर्डले उक्त बिक्री प्रक्रिया नियमनविपरीत भएको ठहर गरेको हो। धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को प्रावधान उल्लंघन भएको ठहर गर्दै बोर्डले कम्पनीसँग स्पष्ट धारणा र आवश्यक विवरण पेश गर्न समेत माग गरेको छ। हाललाई सेयर बिक्री प्रक्रिया रोक्न बोर्डले औपचारिक निर्देशन दिएको छ।
शेयर बजारः नेप्से परिसूचकमा १३.८४ अंकको गिरावट, नेप्से २६२०.३९ बिन्दुमा, कारोबार साढे ८अर्ब बढी
काठमाडौँ । आज बुधबार शेयर बजारमा १४.८७ अंकको ह्रास भइ नेप्से परिसूचक २६२०.३९ बिन्दुमा अडिएको छ । दुई अंकको गिरावटका बेला कारोबार साढे ८ अर्ब बढी भएको हो ।नेप्सेले जनाए अनुसार १ करोड ८४ लाख ९६ हजार १ सय ३८ कित्ता शेयरको खरिद बिक्री भएको बेला करोबार ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १सय ५ रुपैयाँ ४४ पैसा बराबर भएको छ ।
हिजो पनि शेयर बजार दुई अंकको गिरावट भएको थियो । हिजो मंगलबार शेयर बजारमा १४.८७ अंकको ह्रास भइ नेप्से परिसूचक २६३४.२३ बिन्दुमा अडिएको थियो । नेप्सेले जनाए अनुसार २ करोड १८ लाख २८ हजार २ सय ३१ कित्ता शेयरको खरिद बिक्री भएको बेला करोबार ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६ सय १२ रुपैयाँ ५७ पैसा बराबर भएको थियो ।
स्वावलम्बन लघुवित्तको तेस्रो त्रैमासमा १२ करोडभन्दा बढी नाफा, ब्याज आम्दानीमा उल्लेख्य वृद्धि
काठमाडौं ।चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले ११ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो।चालु त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा १०.२९ प्रतिशतले वृद्धि भई १५ करोड १६ लाख रुपैयाँ पुगेको छ। यद्यपि अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो, जसले देखाउँछ कि आयमा वृद्धि भए तापनि अन्य खर्चका कारण सञ्चालन नाफा थोरै घटेको छ।
हिमालयन रिइन्सुरेन्सको नाफा ९८ करोड नाघ्यो, बीमा शुल्क र लगानी आम्दानीमा दोहोरो अंकको वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन रिइन्सुरेन्स कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमा शुल्क आम्दानी १९.७६५ ले बढेर ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १९.१५५ ले बढेको देखिन्छ। यी मुख्य आम्दानी स्रोतहरूमा वृद्धिले नै कम्पनीको मुनाफा बढाउन मद्दत गरेको हो।
नेसनल लाइफ इन्सुरेन्सको १५% लाभांश घोषणा, ५% बोनस र १०% नगद
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले अघिल्लो वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।
साथै, कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद छुट्याइएको कम्पनीले जानकारी दिएको छ।
उक्त लाभांश प्रस्ताव नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
युनियन हाइड्रोपावरको नाफा ४३% ले वृद्धि, ब्याज खर्च घटेर लाभ बढ्यो
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १ करोड ५३ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ५ करोड ७१ लाख रुपैयाँबाट बढेर ५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। आम्दानीको यो वृद्धिले कम्पनीको मुनाफा बढाउन सहयोग गरेको हो।
नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प
झापा ।पूर्वी नेपालको नगदे कृषि उत्पादन सुपारी निर्यात रोकिएपछि मुलुकले बर्सेनि रू दश अर्ब बराबरको विदेशी मुद्रा आर्जनको स्रोत गुमाउन थालेको छ ।
सरकारले विसं २०७८ देखि सुपारी निर्यातमा रोक लगाएयता चार वर्षमा सुपारी निर्यात ठप्प रहेको सुपारी उत्पादक किसान सङ¬्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो ।
उहाँले निर्यात रोकिनु अघि भन्सार प्रक्रियाबाट बर्सेनि रु दश अर्बको सुपारी भारत निर्यात हुने गरेको बताउनुभयो । “सुपारीका बारेमा मुलुकले सही निर्णय लिन नसक्दा किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ,” उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय तीन वटै तहका सरकारलाई समस्या सुनाउँदा आजित भइसक्यौँ । कतैबाट समाधान निस्केको छैन ।”
वैदेशिक रोजगारीका क्रममा ठगिएकाको ५४ लाख फिर्ता
दमौली ।वैदेशिक रोजगारीमा ठगिएका तनहुँका २४ सर्वसाधारणको रू ५४ लाख दुई हजार फिर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन परियोजना ९सामी० को पहलमा विभिन्न ठाउँका २४ जनाको रकम फिर्ता गरिएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म केन्द्रमा एक सय चार वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये २४ जनाको उजुरी फछ्र्योट गरी पीडितलाई रकम फिर्ता गरिएको सहायक प्रमुख जिल्ला जीतबहादुर भण्डारीले जानकारी दिनुभयो । केन्द्रमा दर्ता भएकामध्ये ८० वटा उजुरी वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव
काठमाडौँ । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै तहका सरकार र तिनको मातहतमा रहेका सार्वजनिक निकाय तथा सङ्गठित संस्थाको आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो । महालेखापरीक्षक तोयम रायाले आजै उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो ।
महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरूजु रू सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरूजु गत वर्षकोभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।
त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रू पाँच खर्ब ५१ अर्ब एक करोड गरी कूल रू १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगेको हो । यसरी हालसम्मको कूल बेरूजु रू १२ खर्ब ८४ अर्ब २० करोड नाँघेको छ । प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०र८१ मा मात्रै रू ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरूजु थपिएको छ ।
मदिरा व्यवसायी राजन केसी र उनका कम्पनीहरू विरुद्ध राजस्व चुहावट कसुरमा ३ करोड ९९ लाख बढीको मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले मदिरा व्यवसायी राजन केसी र उनका कम्पनीहरू विरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दर्ता गरेको छ । विभागले केसी मुख्य सञ्चालक रहेका के. के. एण्ड के. लिकर, के. के. एण्ड के. र पी. के. ईन्टरप्राइजेजसमेत विरुद्ध ३ करोड ९९ लाख बढीको मुद्दा दायर गरेको हो ।
राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी मदिरा व्यवसायी केसी र उनका तीनवटै कम्पनी विरुद्ध मुद्दा दायर गरेको विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जनाएकी छिन् ।
काठमाडौ जिल्ला बुढानीलकण्ठ न.पा.–१३, चुनिखेलस्थित मदिराको खरिद बिकी कारोबार गर्ने के. के. एण्ड के. लिकर बुढानीलकण्ठ न.पा.–३, बसुन्धारास्थित के. के. एण्ड के. स्टोर टोखा न.पा.–५ र बसुन्धारास्थित पि. के. ईन्टरप्राइजेजको कारोबार गर्ने मुख्य व्यक्ति राजन केसीले मूल्य अभिवृद्धि कर तथा आयकर छली गर्ने उद्देश्यले बीजक जारी नगरी मालवस्तु बिक्री वितरण गरेको, झुट्टा लेखा तयार गरी कर छलेको, राजस्व छली गर्ने उद्देश्यले बीजक भन्दा बढी वा बिना बीजक सामानमात्र लिई बीजक जारी नगरी बिक्री गरेको, वस्तु तथा सेवाको हस्तान्तरण नै नगरी बीजक मात्र जारी गरी नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर लगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि भएको विभागले जनाएको छ ।
राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले छुटै राष्ट्रिय समिति गठन गरेका छन् । हालै मोहत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हुन् ।
बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खत्रीले सामाजिक सुरक्षा कोषमा जाने, आन्तरिक प्रतिस्पर्धा नगर्नेलगायतका माग राखे । ‘राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई पेशागत सुनिश्चिततासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेशागत निरन्तरता दिनुपर्छ, कार्यरत सम्पूर्ण राहत शिक्षकहरुको बिरामी बिदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका बखत आर्थिक सुविधा उपलव्ध गराउनु पर्छ’ खत्रीले भने ।
सवा तीन सय बढी स्थानीय तहले आन्तरिक लेखा परीक्षण गराएनन्
काठमाडौँ । ३ सय २७ स्थानीय तहले आन्तरिक लेखापरीक्षण नगरेको पाइएको छ। बुधबार सार्वजनिक महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार गत वर्ष ३ सय ७ स्थानीय तहले आन्तरिक लेखापरीक्षण नगराएको पाइएको हो ।
यी स्थानीय तहले आन्तरिक लेखापरीक्षण नगराउनु स्थानीय सरकार सञ्चालन ऐन विपरीत भएको जनाइएको छ । कानुनबमोजिम आन्तरिक लेखापरीक्षण गराउन महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ। ऐनको दफा ७७ मा स्थानीय तहले आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी स्थानीय तहले संघीय र प्रदेश सरकारले निकासा दिएको ३६ करोड ११ लाख रुपैयाँ आफ्ना आयव्यय विवरणमा समावेश गरेका छैनन्। स्थानीय तहलाई एकीकृत वित्तीय विवरण तयार पार्न निर्देशन दिइएको छ।
फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन
पेरिस ।राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको छ ।
उहाँले म्याराथन टेलिभिजन प्रस्तुतिमा आफ्नो जनादेशको बाँकी दुई वर्षका लागि आफ्ना लक्ष्यहरू प्रस्तुत गर्दै महत्त्वपूर्ण मुद्दाहरूमा जनमत सङ्ग्रहको प्रतिबद्धता जाहेर गर्नुभयो ।
सन् २०१७ मा आमूल परिवर्तनको वाचा गर्दै सत्तामा आउनुभएका म्याक्रोनले संविधानअन्तर्गत अनुमति दिइएको अधिकतम दुई कार्यकाल पूरा गरेपछि सन् २०२७ मा पदबाट राजीनामा दिनुहुनेछ ।
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता हुने ट्रम्पको भनाइ
वासिङ्टन ।कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताउनुभएको छ ।
उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताउनुभयो ।
कतारको तर्फबाट आएको यो उपहार स्वीकार नगर्नु मूर्खता हुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको बताउनुभएको छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० माथिको छलफलमा भाग लिँदै उहाँले संरचनात्मक परिवर्तनसहितको क्रमभङ्गता अन्त्य गरी मुलुकलाई सङ्कटबाट जोगाउने किसिमले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विश्व बैंकका दक्षिण एसियाली मामिला हेर्ने उपाध्यक्ष र अर्थमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलसँग विश्व बैंकका दक्षिण एसियाली मामिला हेर्ने उपाध्यक्ष मार्टिन राइजरले भेटवार्ता गरेका छन्। राइजरले बुधबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन्।
अर्थमन्त्री पौडेलले विदेशी सहायताका सन्दर्भमा विभिन्न देशका प्रतिनिधिहरूसँग गरेको छलफल पछि बजेट तयारीको बेला विश्व बैंकका उपाध्यक्ष राइजर र अर्थमन्त्री पौडेलबीच यो भेटवार्ता भएको हो ।
दुई जनाबीच सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।
नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणशे कार्कीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् ।फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स-नेपाल जलविद्युत् लगानी सम्मेलन (France–Nepal Hydropower Investment Summit) लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढीरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतको महत्वपूर्ण भूमिका रहने हुनाले बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
सन १९९९ अघि नेपालको कुल विद्युत उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्र प्रवेश गरेको २५ वर्षमै आज नेपालले ३,५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्याएको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत अर्थात २८०० मेगावाट पुगेको कार्कीले जानकारी गराए ।
जेठमा अधिकांश वैंकहरूको मुद्दती निक्षेप ब्याजदरमा हेरफेर भएन
काठमाडौँ । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरमा जेठ महिनामा हेरफेर नहुने भएको छ ।सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि पुरानै राखेका हुन् ।सञ्चालनमा रहेका २० मध्ये तीनले बढाएका छन् भने तीनले घटाएका छन् ।
नेपाल बैंक, एभरेस्ट र्बैक र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा मुद्दती निक्षेपमा दिने ब्याजदर सामान्य बढाएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर सामान्य घटाएका छन् ।
समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर जेठ महिनाका लागि घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेको थियो । जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।अधिक तरलता भएर राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् ।
सुन प्रतितोला ५०० रुपैयाँले बढ्यो, चाँदी १० रुपैयाँले घट्यो
काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार यो मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो।
उता, चाँदीको भाउ भने घटेको छ। बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १,९६० रुपैयाँ कायम भएको छ, जुन मंगलबार १,९७० रुपैयाँ थियो।
भक्तपुर प्रहरीद्वारा राजस्व छली गरी ल्याइएको करिब ७२ लाखको मालवस्तु नियन्त्रणमा
वीरगञ्ज । भक्तपुर प्रहरीले भन्सार छली चोरी तस्करीको मालवस्तु नियन्त्रणमा लिएको छ ।भक्तपुर प्रहरी परिसरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीले जनाए अनुसार विश्वसनीय सूचनाका अधारमा जगातीमा करिब ७२ लाख बराबरको मालवस्तुसहित गाडी नियन्त्रणमा लिइएको हो ।
भक्तपुर प्रहरीको सामाजिक सञ्जालमा जनाइए अनुसार आइतबार २८ वैशाखको राती साढे १० बजे बा ४ ख ७६० नम्बरको टाटा ट्रकसहित तस्करीको माल बरामद गरिएको जनाइएको छ ।
जेठ महिनामा अधिकांश बैंकहरुको ब्याजदर स्थिर
काठमाडौं । जेठ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदर सूचीमा अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका हुन् ।
वैशाख महिनाको तुलनामा जेठमा वाणिज्य बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०२ प्रतिशत घटेर ५.९५ प्रतिशतमा झरेको छ । यस्तै, संस्थागततर्फ औसत ०.०१ प्रतिशत बढेर ४.३७ प्रतिशत पुगेको छ ।
विकासन्यूजलाई प्राप्त तथ्याङ्क अनुसार जेठ महिनाका लागि एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ब्याजदर परिवर्तन गरेका छन् । जसमा एभरेष्ट, नेपाल बैंक र सानिमा बैंकले ब्याजदर बढाएका छन् भने कुमारी, सिद्धार्थ बैंक र एनआईएमबिले ब्याजदर घटाएका छन् ।
एभरेष्टले मुद्दती निक्षेपमा ०.०३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ६.६४ प्रतिशत र संस्थागततर्फ ५.६४ प्रतिशत तोकेका छन् ।
यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत बढाएर ५.४५ प्रतिशत ब्याजदर तोकेको छ । तर, संस्थागतमा भने स्थिर राखेको छ ।
घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिनमात्र बाँकी छ तर मर्मतसम्भार पूरा भएको छैन । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन् ।वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आर्कषण घण्टाघर घुम्टोमा छ । मर्मतसम्भारको नाममा यसलाई छोपिएको छ । यहाँ घुम्न आउने पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन् ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले घण्टाघरको संरचना जीर्ण भएकाले पनि मर्मतसम्भारका लागि केही बढी समय लागेको जानकारी दिनुभयो । “घण्टाघरको पुरानो संरचना भएकाले मर्मतसम्भारमा केही बढी समय लागेको हो”, उहाँले भन्नुभयो, “हामीले घण्टाघरको संरचना मर्मतसम्भार शीघ्र पूरा गर्न व्यवसायीलाई पनि ताकेता गरिरहेका छौँ ।”
ग्यास चुहिएर मखनटोलको चारतले घरमा आगलागी, एक जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।”आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।
देशभर आंशिक बदली, उच्च भू-भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना
काठमाडौँ ।देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्र प्रायः आंशिक बदली रहनेछ।
कोशी प्रदेशमा हिमाली क्षेत्रमा दिउँसो आंशिकदेखि सामान्य बदली रहने र एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ।
मधेश प्रदेशमा आंशिक बदलीदेखि मुख्यतः सफा मौसम रहनेछ, यहाँ वर्षा वा अन्य मौसमी गतिविधिको सम्भावना न्यून रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भूभागमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने आंशिक बदलीदेखि सफा मौसम रहने अनुमान गरिएको छ।
नेपालमा चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम लागू हुने
काठमाडौँ। नेपालमा चार्टर्ड एकाउन्टेन्सी (CA) शिक्षालाई थप सान्दर्भिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक बनाउन नयाँ पाठ्यक्रम लागू गरिने भएको छ।
लेखा व्यवसाय नियमन गर्ने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) ले अन्तर्राष्ट्रिय संस्था ICWAI (Institute of Cost Accountants of India) सँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम तयार गरेको हो।
ICAN का अनुसार, उक्त नयाँ पाठ्यक्रम क्रमशः CA शिक्षाको पहिलो तहमा डिसेम्बर २०२५, दोस्रो तहमा डिसेम्बर २०२६ र तेस्रो तहमा जुन २०२८ बाट लागू गरिनेछ।
नयाँ पाठ्यक्रम अन्तर्राष्ट्रिय लेखा महासंघ (IFAC) द्वारा निर्धारित शैक्षिक मापदण्डहरूको आधारमा तयार गरिएको हो, जसले नेपालको लेखा शिक्षा प्रणालीलाई विश्वस्तरको बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij