Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

तेर्सो तेर्सो हिँड्न छोडेर गृहमन्त्री लेखकले सिधा राजीनामा दिनुपर्छ

तेर्सो तेर्सो हिँड्न छोडेर गृहमन्त्री लेखकले सिधा राजीनामा दिनुपर्छ

  • काठमाडौँ । ‘तेर्सो तेर्सो हिँड्न छोडेर गृहमन्त्री रमेश लेखकले सिधा राजीनामा दिनुपर्छ ।’ नेपाली कांग्रेसका संस्थापक र विचारक बीपीका अनुयायीहरूले  भिजिट भिसाका नाममा बदनाम हुँदै गएका गृहमन्त्री लेखकका बारेमा यस्तो बताउँछन् ।

    संसदमा बोल्न खोजेका तर प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण स्थगित भएको संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूको सवालको सिधा सिधा जवाफ नदिएर तेर्सो तेर्सो हिँडेका गृहमन्त्री लेखकका बारेमा यस्तो सुझाव बीपीका अनुयायीहरूले दिएका हुन् । 

    नैतिकताको खडेरी परिरहेको बेला लेखकलाई कालो कांग्रेसलाई सेतो बनाउने पहल गर्न सुझाव दिएका हुन् ।
    उनीहरूका अनुसार बीपी कोइराला गृहमन्त्री भएका बेला प्रहरीले चलाएको गोलीबाट विद्यार्थी नेता चिनियाँ काजी श्रेष्ठको मृत्यु भएपछि बीपीले राजीनामा दिएको प्रसंग उप्काउँदै यस्तो सुझाव दिइएको हो । नैतिकताको सम्बन्ध कानुनसँग हुँदैन् । त्यसैले उनले प्रस्तुत गरेका तर्कहरू उनलाई  बचाउ नगरी बदनाम गराइरहेको छ । 
    बदनामी पखाल्न आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखक झन् बदनाम भएको पर्यवेक्षकहरू बताउाछन् ।
    पत्रकार सम्मेलनमा पत्रकारहरूबाट उठाइएका सवालको जवाफ दिँदा सिधा सिधा नदिई  तेर्सो तेर्सो घुमि रहे । कुरो उठ्थ्यो ग्राग्राको लेखकले आग्राको कुरा गरी टाढा टाढा घुमिरहँदा उनलाई थप बदनाम गराएको साथै पार्टीलाई पनि बदनाम गराएको बीपीका अनुयायीहरूको भनाइ छ ।

    उनले पत्रकारहरूलाई रमेश लेखक यस्ता गैरकानुनी कार्यमा संलग्न होला भनी आशंका छ भनी प्रश्न गरेका थिए ।
    उनका अनुसार व्यक्ति केन्द्रीत र राजनीतिक कुण्ठा प्रेरित विषय उठाएर सार्वभौम संसद् अवरुद्ध गरिएको छ । 
    लेखकले  कुनै कर्मचारीलाई जिम्मेवारी दिएका कारण मन्त्री जवाफदेही हुने अवस्था नआउने साथै कुनै कर्मचारी भ्रष्टाचारको छानबिनमा परेको अवस्थामा मन्त्री जवाफदेही बन्नु र राजीनामा दिनु नपर्ने बताएका थिए ।

    यसैगरी गृहमन्त्री रमेश लेखकले सुरुमै सहसचिव तीर्थराज भट्टराईको नियुक्ति आफ्नो नभई  रामबहादुर थापा गृहमन्त्री भएका बेलामा भट्टराईले गृह मन्त्रालय अन्तर्गत गोरखाको सीडीओ बनेको खुलाए । त्यसपछि बालकृष्ण खाँणको पालामा पञ्जीकरण विभागको महानिर्देशक बनेको र रवि लामिछाने गृहमन्त्री भएका बेलामा मोरङको प्रमुख जिल्ला अधिकारी बनेको पनि जनाए ।भट्टराई पञ्जीकरण विभागकै महानिर्देशक बनेको बेला ठेक्कापट्टामा गडबड गरेको खुलेपछि लामिछाने गृहमन्त्री हुँदा उनी मोरङबाट मन्त्रालयमा तानिएको प्रसंग भने  लेखकले लुकाए । 

    भ्रष्टाचारको आरोप लागेका, परिचयपत्र विभागमा कार्यरत रहँदा ठेक्कापट्टामा गडबड गरेको कर्मचारीलाई किन संवेदनशील कार्यालयमा पठाइयो भनी सोधिएको प्रश्नको जवाफ नदिएर आग्रा घुमिरहे । रवि लामिछाने विरुद्ध ऊजुरी परेकोले आफूले राजीनामा दिन भनेको बताए । अनुसन्धान भएर दोषी ठहर भए राजीनामा दिन्छु भनिरहँदा यस्तोमा उनको राजीनामा महत्वपूर्ण नभएर उनी सार्वजनिक जीवनका लागि अयोग्य नै हुनेछन् ।

    विमानस्थल अध्यागमन कार्यालयमा खुलमखुला घुसखोरीबाट मानव तस्करी हुने गरेको, अनि अध्यागमनका कर्मचारीहरूका गलत क्रियाकलापमाथि गृहमन्त्रीले संरक्षण गरी त्यसबाट लाभ लिइरहेको आरोपलाई गृहमन्त्रीले पत्रकार सम्मेलनमा बिर्से ।

     कर्मचारीहरूमाथि प्रश्न उठेकै भरमा मन्त्रीले राजीनामा दिनु न्यायोचित नहुने भन्दै त्यो विषयलाई ‘सहसचिव भट्टराईमाथि मात्रै छानबिन भइरहेको विषय’ भन्ने हिसाबले प्रस्तुत हुँदै गृहमन्त्री लेखकले त्यसैसाथ अघिल्ला मुख्यसचिव डा. बैकुण्ठ अर्यालको प्रसंग जोडे ।
    प्रमुख प्रतिपक्षी नेता प्रचण्डले  प्रधानमन्त्री भएको बेला अवकाशको मुखैमा रहेका सचिव डा. बैकुण्ठ अर्याल मुख्यसचिव बनेका थिए । पदमै रहेका बेला अर्यालमाथि सञ्चारसचिव हुँदा गरेको काममा प्रश्न उठाई भ्रष्टाचार मुद्दा चल्यो ।

    गृहमन्त्री लेखकले तत्कालीन प्रधानमन्त्री प्रचण्डप्रति संकेत गर्दै त्यस्तो अवस्थामा आफूले कहिले पनि प्रधानमन्त्रीको राजीनामा नमागेको बताए । मुख्यसचिव अर्यालमाथिको अनुसन्धान र अहिले गृहमन्त्री लेखकमाथिको प्रश्न  मुलभूत रूपमै फरक रहेको हेर्दाहेर्दै फेरि कुरो आग्राको गरिहाले ।मुख्यसचिव अर्यालमाथि सञ्चार सचिव हुँदा गरेको काम कारबाहीमा प्रश्न उठाई अनुसन्धान भइरहेको थियो । सबै कागजातहरू नियन्त्रणमा लिएको अख्तियारले प्रमाण नष्ट गर्ने सम्भावना देखेको थिएन ।

    सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधिसमेत पाएका गृहमन्त्री लेखकले भनेको ‘फौजदारी कसुरमा जसले अपराध गर्छ त्यो व्यक्ति दोषी हुन्छ’ भन्ने मान्यता मुख्य सचिवको हकमा लागू हुन्थ्यो । साथै त्यतिबेला सेक्युरिटी प्रिन्टिङ प्रेससँगको निर्णयमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड कुनै पनि रुपमा संलग्नता नभएको बिर्से ।

    अनि अहिले सहसचिव तीर्थराज भट्टराई छानबिनमा तानिएर होइन कि अध्यागमनको सेटिङमा गृहमन्त्रीको पनि संरक्षण गरेको अनि त्यसबापतकै लाभका लागि सहसचिव भट्टराईलाई त्यहाँ पठाएको आरोपमा गृहमन्त्रीमाथि सवाल खडा भएको हो ।

    रास्वपा नेता, कार्यकर्ताहरूले गृहमन्त्री लेखक पनि सहसचिव भट्टराई झैँ संलग्न हुन सक्छन् र उनले पदमा बसेर अनुसन्धान प्रभावित पार्न सक्छन्’ भनी आशंका गरेका हुन् । 

    यसरी लेखकले आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा गाग्राको कुरा नगरी आग्राको कुरा गरिरहेकाले उनको राजीनामाको माग प्रतिपक्षी दलका सांसद नेताहरूले मात्र उठाइरहेका छैनन् । उनको आफ्नै दल कांग्रेस र एमालेका नेताहरूले पनि राजीनामा दिएर अनुसन्धानलाई विश्वसनीय बनाउन गरेको मागको पृष्ठभूमिमा बीपीका अनुयायी र पर्यवेक्षकहरूले लेखकलाई तेर्सो तेर्सो नहिँडी सिधा राजीनामा गर्न भनिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij