Logo

Jun 04 2025 | २०८२, जेठ २१गते

Jun 04 2025 | २०८२, जेठ २१गते

images

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

  •  

    दोधारा चाँदनी । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ ।

     

    नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिनुभयो । उहाँका अनुसार बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । “बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन् ।” उहाँले भन्नुभयो, “यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।” 

     

    भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रकम लागतमा बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ । नेपाली पक्षले बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्ण सुरु हुनेछ । 

     

    बन्दरगाहका लागि प्रयोग हुने ४२।३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहँुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij