
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई—मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको माहाशाखाले जानकारी दिएको छ ।
महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिनुभयो । “मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ, तर आज कोशी, बागमती तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “बुधबारदेखि भने उपत्यकालगायतका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । बादल पनि लाग्ने हुँदा बुधबारदेखि विस्तारै तापक्रम घट्ने छ ।”
मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको छ भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । यसैगरी, आज दिपायलको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सिमरा, जनकपुर, बिराटनगरको अधिकतम तापक्रम भने ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।
महाशाखाले बुधबार बिहानसम्मको मौसम पूर्वानुमान गर्दै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेकाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न जनाएको छ । यसैले सम्भावित जोखिम तथा असरबाट बच्न आवश्यक तयारी र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij