Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १२ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार १२ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १२ बिहीबार  । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

    शेयर बजार : नेप्से परिसूचकमा १.७५ अंकले बढेर २५९८.४४ विन्दुमा, ७ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौं । सेयर बजार बिहीबार पनि सुस्त देखिएको छ । विगत केही दिनदेखि नेप्से सूचक २६ सय विन्दुको आसपासमा रहँदै आएको छ । बिहीबार पनि नेप्से सूचकमा १.७५ अंकको गिरावट देखिएको छ । यससँगै सूचक २५९८.४४ विन्दुमा बन्द भएको छ । यस दिन ७ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । यस दिन ३ सय ६ कम्पनीको १ करोड ९६ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र ङादी ग्रुप पावर रहेका छन् ।

    इजरायल–हिजबुल्लाह द्वन्द्वपछिको भारी क्षतिको सामना गरिरहेको लेबनानका लागि विश्व बैंकद्वारा २५ करोड डलरको पुनर्निर्माण परियोजना प्रारम्भ

    बेरुत । विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनप्र्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ ।

     

    बैंकले यसअघि पुनर्निर्माण र पुनप्र्राप्तिको लागत करिब ११ अर्ब डलर खर्च हुने अनुमान गरेको थियो । “विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले हिजो लेबनानलाई क्षतिग्रस्त महत्त्वपूर्ण सार्वजनिक पूर्वाधार र लाइफलाइन सेवाहरुको सबैभन्दा जरुरी मर्मत र पुनर्निर्माण तथा द्वन्द्व प्रभावित क्षेत्रहरुमा भग्नावेशषको दिगो व्यवस्थापनलाई सहयोग गर्न २५ करोड अमेरिकी डलरको आर्थिक सहयोग स्वीकृत गरेको छ”, बैंकले एक विज्ञप्तिमा भनेको छ ।

    विश्व बैंकको मध्यपूर्व विभागका डिभिजन निर्देशक जिन–क्रिस्टोफ कार्रेटले भने, “लेबनानको ठूलो पुनर्निर्माण आवश्यकतालाई ध्यानमा राख्दै परियोजनालाई विश्व बैंकबाट प्रारम्भिक २५ करोड डलर योगदानका साथ एक अर्ब डलरको स्केलेबल फ्रेमवर्कको रुपमा संरचित गरिएको छ ।”

    पतञ्जलि जग्गा काण्डमा मुछिएका पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश

    काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । 

    पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरण्को उहाँविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज भएको थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री नेपाललाई नगद रु ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश भएको छ ।” न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको हो ।

    आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुनुभएपछि अपराह्नदेखि उहाँसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गर्नुभएको थियो । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गर्नुभएको थियो ।

    शेयर लगानीकर्ता संघहरूको माग: १५ करोडको शेयर धितो कर्जा सीमा हटाउन दबाव, लघुवित्तको लाभांश वितरणमाथिको रोक हटाउन जोड

    काठमाडौँ ।नेपाल राष्ट्र बैंक अहिले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तयार पार्न सक्रिय भएको छ। केन्द्रीय बैंकले साउन १५ भित्र मौद्रिक नीति ल्याउने कार्यविधिअनुसार आगामी १० साउनसम्म सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ।

    नवनियुक्त गभर्नर डा. विश्व पौडेलले वित्तीय क्षेत्रमा देखिएका समस्याहरू पहिचान गर्न स्थलगत निरीक्षण पनि जारी राखेका छन्। हालको अर्थतन्त्रमा समग्र माग विस्तार हुन नसकेको अवस्थामा आगामी मौद्रिक नीतिले अर्थतन्त्रलाई सुदृढ र समग्र मागमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

    कोभिडको प्रभावपछि मौद्रिक नीतिमा सर्वसाधारणको चासो उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी शेयर बजारमा सर्वसाधारणको पहुँच बढेसँगै उनीहरूको अपेक्षामा वृद्धि भएको छ। बजेटमा परम्परागत ढंगले सीमितता हुँदा मौद्रिक नीति अहिले सर्वसाधारणको ध्यानाकर्षणको केन्द्रबिन्दु बनेको छ।

    शेयर लगानीकर्ता संघहरूले राष्ट्र बैंकलाई भेटेर व्यक्तिगत शेयर धितो कर्जाको १५ करोड सीमालाई हटाउन र लघुवित्त संस्थाहरूको लाभांश वितरणमा लगाइएको रोक हटाउन आग्रह गरेका छन्। उनीहरूले नेपालले अंगिकार गरेको खुल्ला अर्थनीतिको सिद्धान्त अनुसार यस्तो नीति हुनु आवश्यक रहेको बताए।

    राजस्व अनुसन्धान कार्यालय बुटवलद्धारा नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्मासमेत विरुद्ध ७ करोड बिगो मागसहित मुद्दा दायर

    बुटवल। राजस्व अनुसन्धान कार्यालय बुटवलले करिव ७ करोड बिगोदावीसहित राजस्व  चुहावटमा  मुद्दा दर्ता गरेको छ । राजस्व अनुसन्धान कार्यालय, बुटवलले नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव, आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्मासमेत विरुद्ध  राजस्व अनुसन्धान कार्यालय बुटवलले बुधबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो । 

     

    पश्चिमनवलपरासीको रामग्राम नगरपालिका, वडा नं ८ स्थित बिक्रेता नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायमा कानुन विपरीत कारोबार भएको प्रमाणका आधारमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धत्रान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले बताए । 
    बिक्रेताले ५० लाखभन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूअकरमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएको दायर गरिएको मुद्दामा जनाइएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँ कायम

    काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    यता, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर २१ सय ७५ रुपैयाँ कायम भएको छ ।

    फेसबुकमा ‘थाइ बैंक मेनेजर’ बनेर ६२ लाख ठगी गर्ने युवक सीमा क्षेत्रबाट नाटकीय रूपमा पक्राउ

    धरान। सामाजिक सञ्जाल फेसबुकमार्फत ६२ लाख ७५ हजार २०० रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहता हुन्।

     

    मेहताले ‘भानिदा सुवन’ नामक नक्कली फेसबुक आइडी बनाएर आफूलाई थाइल्याण्डस्थित सिएम कमर्सियल बैंकको मेनेजर भनेर चिनाउँदै ठगी गर्ने गरेका थिए। प्रहरीले जनाएअनुसार उनले एलेन अर्बी शाही नामक व्यक्तिको बैंक खातामा रहेको रकमको उत्तराधिकारी बन्न पीडित कुर्मराज शाहीलाई प्रलोभन देखाएका थिए।

    प्रलोभनमा परेका शाहीले विभिन्न चरणमा गरी मेहताको नाममा रहेको बैंक खातामा ६२ लाख ७५ हजार २०० रुपैयाँ पठाएका थिए। अनुसन्धानमा यो रकम झुठो विश्वास दिलाई ठगी गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

    त्रिभुवन र पोखरा विमानस्थलका महाप्रबन्धकको जिम्मेवारी हेरफेर, पाण्डे र निरौलालाई नयाँ जिम्मेवारी

    काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखहरूबीच जिम्मेवारी हेरफेर गरेको छ।

     

    बुधबार बसेको प्राधिकरणको बैठकले यो निर्णय गरेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ।

    उक्त निर्णयअनुसार निरौलाको स्थानमा हंसराज पाण्डेलाई त्रिभुवन विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिइएको छ। पाण्डे यसअघि नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताको भूमिकामा पनि रहेका थिए।

    त्यस्तै, हालसम्म पोखरा विमानस्थलको नेतृत्व सम्हालिरहेका प्रेमनाथ ठाकुरलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ।

    विनियोजन विधेयक २०८२ माथि राष्ट्रियसभामा छलफल, अर्थमन्त्री पौडेलले कार्यान्वयनमुखी बजेटको दाबी

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । 

    त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उठाएको प्रश्नको जवाफ दिदैँ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमुखी र सन्तुलित रहेको बताउनुभयो । उहाँले बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजाप्राप्त हुनसकोस भनेर मन्त्रालयले ध्यान दिएको उल्लेख गर्नुभयो । 

    उपप्रधानमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ । बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रुपमा संयमित र सन्तुलित बनाइएको छ, बजेट निर्माणमा अनुशासन पालना गरिएको छ ।”

    सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

    काठमाडौँ ।सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवनई समितिमा सात उजुरी परेको छ ।संसदीय सुनुवाइ समितिको आजको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति इश्वरी देवी न्यौपानेले जानकारी गराउनुभयो । 

    वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको छ । सभापति न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्त विरुद्ध दुई र शान्तिसिंहविरुद्ध एक तथा सैद्दान्तिक विषयसँग समबन्धि दुई वटा उजुरी परेको छ । शुक्रवार उजरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाई गर्ने समितिले जनाएको छ । उजुरीकर्तालाई आजको समितिको बैठकमा आमन्त्रण गरिएको थियो ।

    एनभिडिया पुनः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी, बजार पुँजीकरणले माइक्रोसफ्टलाई उछिन्यो

    काठमाडौँ । चिप निर्माता कम्पनी एनभिडियाले फेरि एकपटक विश्वकै सबैभन्दा मूल्यवान कम्पनीको उपाधि फिर्ता लिएको छ। बुधबार यसको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढ्दै १५४.१० डलरको ऐतिहासिक उच्च विन्दुमा पुगेपछि कम्पनीको बजार मूल्य ३.७६ ट्रिलियन डलरसम्म पुगेको हो। यो माइक्रोसफ्टको ३.६५ ट्रिलियन डलरभन्दा पनि माथि हो।

    एनभिडियाको यो वृद्धि कम्पनीका उच्चस्तरीय एआई चिपहरूमा केन्द्रित मागका कारण भएको विश्लेषकहरू बताउँछन्। यस्तै विश्लेषकहरूले अब कम्पनीको मूल्य लक्ष्य १७५ डलरबाट बढाएर २५० डलरसम्म पुर्याएका छन्।

    यस वृद्धिले एआई क्षेत्रतर्फको लगानी चासो पुनः बढाएको छ, जुन विगत केही वर्षदेखि लगातार चिप निर्माता कम्पनीहरूलाई फाइदामा ल्याउने मुख्य कारक बनेको छ।

    हाल एनभिडियाको सेयर करिब ३० गुणा पीइ रेसियोमा कारोबार भइरहेको छ, जुन अघिल्ला पाँच वर्षको औसतभन्दा कम भए पनि, कम्पनीको आम्दानी अपेक्षाभन्दा छिटो बढिरहेको संकेत दिन्छ।

    वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी, दुई जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट रु ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट रु छ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।”

    काठमाडौँमा सुरु हुँदैछ ‘नेपाल म्याङ्गो फेस्ट’, स्थानीय किसानबाट प्रत्यक्ष आँप किनमेल गर्न पाइने मौका

    काठमाडौँ ।नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई-मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो ।

    काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

    काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुनुहुने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिनुभयो ।

    राष्ट्रियसभा :  केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन  पेस

    काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन  पेस गरिएको छ ।बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । 

    त्यसैगरी, आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले विनियोजन विधेयक– २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्नुभयो ।

    डा. ढकालको रिटमा असार १७ गते छलफल, निर्वाचन आयोगलाई फाइलसहित उपस्थित हुन आदेश

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले रिट निवेदनमा कारण देखाउन आदेश जारी गर्दै असार १७ गते सुनुवाई तोकेको हो।

     

    सुनुवाईमा निर्वाचन आयोगलाई पनि सहभागी गराउने निर्णय गरिएको छ। आयोगलाई गत असार ४ गते ढकाललाई दिएको पत्रसहितको फाइलसहित उपस्थित हुन भनिएको छ। मुद्दामा अन्तरिम आदेश मागसमेत गरिएको छ, जसमा दुवै पक्षबाट छलफलपछि निर्णय गरिनेछ।

    निर्वाचन आयोगले ढकाललाई अझै रास्वपाको महामन्त्री मान्ने जनाएको छ। आयोगका अनुसार पार्टीले १५ महिनाअघि पदाधिकारी फेरबदल गरेको भए पनि त्यसपछि अभिलेख अद्यावधिक नभएको छ। तर रास्वपाले गत वर्ष ढकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाएको दावी गरेको छ।

    कालीगण्डकी नदी उत्खननमा कानुनी विवादको समाधान, मुस्ताङमा एक्यापले दस्तुर उठाउन सुरु

    मुस्ताङ ।कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको उत्खनन, सङ्कलन, बिक्री वितरण तथा ओसारपसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद र समस्याको निदान भएको छ । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले मुस्ताङमा नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर (कर) उठाउन थालेको हो 

    एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण व्यवस्थापन समितिको सिफारिसका आधारमा कालीगण्डकी नदीमा प्राकृतिक स्रोतको न्यूनतम मापदण्डमा रहेर प्रधान कार्यालयले नदीजन्य उत्खननको सिफारिस दिने गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो ।

    यसअघि सर्वोच्च अदालतमा परेको रिटमा विसं २०७८ असार २९ गते कालीगण्डकी उत्खनन रोक्न आदेश दिइएको थियो । सर्वोच्चले कालीगण्डकी नदीको बहाव रोक्ने, प्रदूषण गर्ने, ढुङ्गा गिटी, बालुवाको उत्खनन्जस्ता काम नगर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले २०८१ कात्तिक ११ गते उक्त रिट निर्देशनात्मक आदेशसहित खारेज गरेको थियो । त्यसपछि संरक्षित क्षेत्रमा नदीजन्य स्रोतको उपयोगका लागि उत्खनन मार्ग खुलेको हो ।

    चिनियाँ वैज्ञानिकद्वारा नयाँ प्रविधिको विकास : टायर र सडकको घर्षणबाट विद्युत उत्पादन

    बेइजिङ । चिनियाँ वैज्ञानिकहरुको टोलीले एक अत्याधुनिक उपकरण विकास गरेको छ, जसले सवारी साधनका टायर र सडक बीचको घर्षणबाट सफा विद्युत उत्पादन गर्न सक्छ । यस उपकरणलाई ‘रोडबेड ट्राइबोलोजिकल ऊर्जा सङ्कलन यन्त्र’ भनिन्छ र यसले ऊर्जा संकलनको नयाँ र पहिले प्रयोग नगरेको स्रोतलाई उपयोग गर्ने प्रयास गरेको छ ।

     

    रोडबेड ट्राइबोलोजिकल ऊर्जा संकलन यन्त्र एउटा प्रविधि हो, जसले सवारी साधनका टायर र सडक बीचको घर्षणबाट उत्पन्न हुने ऊर्जा संकलन गरी त्यसलाई विद्युतमा रुपान्तरण गर्छ । यो यन्त्र ट्राइबोइलेक्ट्रिक नानो जेनरेटर प्रणाली प्रयोग गर्दछ, जसले घर्षणबाट उत्पन्न विद्युतलाई संकलन गरेर प्रयोगयोग्य बनाउँछ ।

    कोशी प्रदेशसभामा आर्थिक विधेयक सर्वसम्मत पारित, समृद्धिको मार्गमा सरकार अगाडि

    विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

     

    आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पेस गरेको उक्त प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेसँगै बैठकले सर्वसम्मतिले पारित गरेपछि छलफल सुरु भएको थियो ।

    बफियाको पुनर्लेखन आवश्यक नभइ संशोधन परिमार्जन गरिने अर्थमन्त्रालयको प्रष्टीकरण

    काठमाडौँ । अर्थमन्त्रालयले  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा पुनर्लेखन आवश्यक नरहेको भन्दै अर्थ समितिलाई पत्र पठाएको छ ।अर्थ समितिमा विचाराधीन रहेको विधेयकलाई विद्यमान परिस्थतिअनुसार थप परिस्कृत बनाउन पुनर्लेखन आवश्यक भएमा त्यसको सुझाव पठाउन भनिएकोमा पुनर्लेखन आवश्यक नपर्ने भनी अर्थ मन्त्रालयबाट समितिलाई जवाफी पत्र आएको सभापति सन्तोष चालिसेले जानकारी सार्वजनिक गरेका हुन् । 

     

    ‘बाफिया पुनर्लेखन गर्नुपर्ने भन्दै समितिमा सुझाव आएपछि हामीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्र पठाएका थियौँ । तर पुनर्लेखन आवश्यक नपर्ने र समितिबाटै आवश्यकताअनुसार संशोधन गरेर अघि बढ्न सकिने भनेर जवाफ आएको छ”, बिहीबार बसेको  बैठकमा सभापति चालिसेले भने ।यसअघि समितिले विधेयकबारे बैंकिङ क्षेत्रका विज्ञ, पूर्वबैंकर तथा बैंकहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा विज्ञहरुबाट मात्र नभई समितिका सदस्यहरुले पनि बाफिया विधेयक संसदमा दर्ता भएको लामो समय भइसकेकाले विद्यमान भू–राजनीतिक परिवर्तन र आन्तरिक अवस्थासमेतलाई हेरेर संशोधन गर्नुपर्ने सुझाव दिएका थिए ।

    झूटो रोजगारीको आश्वासनमा फसेका ५७ नेपालीको उद्धार , गिरोहले प्रति व्यक्ति ७० हजारसम्म असुली

    काठमाडौँ। आकर्षक रोजगारीको झूठो आश्वासनमा भारत पुर्‍याइएर अमानवीय व्यवहार सहन बाध्य भएका ५७ नेपाली युवकलाई उद्धार गरी नेपाल फर्काइएको छ। उत्तराखण्ड राज्यको विभिन्न स्थानमा बन्धक बनाइएका ती नेपालीलाई नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहकार्यमा मुक्त गरिएको हो।

     

    काशिपुरबाट ३५ जना नेपालीको उद्धारपछि आइतबार साँझ थप २२ जनालाई सुरक्षित रुपमा फेला पारिएको थियो। बुधबार उनीहरूलाई पश्चिमी नाका गड्डाचौकी हुँदै स्वदेश फर्काइएको हो। कञ्चनपुर प्रशासन, प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर विकलगायतले उनीहरूको स्वागत गरेका थिए। उद्धार गरिएकाहरूलाई आज (बिहीबार) आ–आफ्नो घर पठाइनेछ।

    उनीहरूलाई महिनौंसम्म बन्धक बनाएर कुटपिट, यातना, डरधम्की दिँदै आर्थिक शोषण गरिएको थियो। उद्धार गरिएका नेपालीहरू विभिन्न जिल्लाका छन्—जसमा चितवनका १०, कैलालीका ९, सुनसरीका ५, पाँचथर, तेह्रथुम, उदयपुरका ४-४ जना, दाङ, स्याङ्जा, बाँकेका ३-३ जना, डोटी, ताप्लेजुङ, धादिङका २-२ जना तथा सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १-१ जना छन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij