Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

आन्दोलनकारी शिक्षकहरूको सरुवा असंवैधानिक भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोध

आन्दोलनकारी शिक्षकहरूको सरुवा असंवैधानिक भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोध

  • काठमाडौँ ।आन्दोलनमा सक्रिय रहेका शिक्षकहरूको सरुवा तथा प्रधानाध्यापकहरूको हेरफेरप्रति आपत्ति जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षामन्त्री रघुजी पन्तलाई गम्भीर ध्यानाकर्षण गराएको छ। संगठनले भेदभावपूर्ण निर्णयमार्फत शिक्षण वातावरणमै असर पार्ने कार्य भइरहेको भन्दै कडा असन्तुष्टि प्रकट गरेको छ।

    शिक्षामन्त्रीलाई लक्षित गर्दै संगठनका अध्यक्ष हंस शाहीले “यो सानो उदाहरण हो भनेका थियौं, शिक्षा मन्त्रीज्यूलाई!” भन्दै चेतावनी दिएका छन्। संगठनले शिक्षा क्षेत्रमा राजनीतिक र व्यक्तिगत पूर्वाग्रहले निर्देशित निर्णयलाई असंवैधानिक र अराजक ठहर गर्दै ती खारेज गर्न सरकारसँग माग गरेको छ।

    संगठनको दाबी अनुसार हालै गरिएको सरुवामा आन्दोलनमा सहभागी शिक्षकहरूलाई लक्षित गरिएको छ। त्रियुगा नगरपालिकाबाट मात्रै ८१ जना शिक्षकको सरुवा गरिएको छ, जसमा अदालतले स्थगन आदेश जारी गरिसकेको छ। त्यस्तै, सुरुङ्गा, मलङ्गवा, बेनीघाट रोराङ, गजुरी, जुगल तथा सोलु दुधकुण्ड नगरपालिकाबाट पनि उल्लेखनीय सङ्ख्यामा शिक्षकहरू सरुवा गरिएको विवरण छ। केही प्रधानाध्यापकहरूलाई पद घटुवा गर्दै अन्यत्र खटाइएको उल्लेख गरिएको छ।

    यस किसिमको सरुवालाई संगठनले ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै शिक्षकहरूको मनोबल कमजोर पार्ने र शिक्षण गुणस्तरमा प्रतिकूल असर पार्ने चेतावनी दिएको छ। संगठनले सबै स्थानीय तहहरूलाई शिक्षकहरूप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गर्दै शिक्षा क्षेत्रको स्थायित्व र मर्यादा जोगाउन सहकार्यको प्रस्ताव समेत राखेको छ।

    संगठनले जारी विज्ञप्तिमा नेपाल शिक्षक महासंघ, तीनै तहका सरकार र सरोकारवाला निकायहरूलाई आन्दोलनको भावना विपरीत कुनै पनि गतिविधि नगर्न र नगराउन स्पष्ट रूपमा चेतावनी दिएको छ। शिक्षकहरूको हक, हित र अधिकारको रक्षाका लागि संगठन सधैँ प्रतिवद्ध रहने स्पष्ट गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij