Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

"धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता " मूल नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मनाइँदै

"धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता " मूल नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मनाइँदै

  • काठमाडौँ । "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता "  मूल नाराका साथ  २२औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मनाइँदै छ ।  प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । यसको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक लगायतको महत्व रहेको छ। यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जिवन पद्दति पनि हो। धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

    dhan1.jpg

    यसै सन्दर्भमा यस वर्ष "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता" भन्ने नाराका साथ २२औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ विभिन्न कार्यक्रमहरु गरी मनाउन लागिएको छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी रुपमा बढ्दो नकरात्मक असरलाई न्यूनिकरण गर्दै धान बालीमा जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्वद्ध पक्षहरु सचेत र जागरुक बनाई सघन धान खेती (वर्षे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने र देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ ।

    नेपाल कृषि अनुसन्धान परिषद् बाट धानवालीका विभिन्न १४० भन्दा बढी जातहरु दर्ता भएका छन् । नेपालमा नै हाइब्रिड धानका जातहरुको पनि विकास भइरहेको छ र यसरी विकास भएका धानका जातहरुको बीउको उपलब्धता सुनिश्चित गर्न विउवृध्दिका कार्यक्रमहरु तीनै तहका सरकारमार्फत सञ्चालन भइरहेका छन् । चालु आ.व. २०८१/८२ मा बर्षे र चैते दुबै गरि कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती भई कूल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको र औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेको थियो । गत आ.व. २०८०/८१ को तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औषत उत्पादकत्व हासिल हुँदा कूल उत्पादनमा पनि गत आ.व. भन्दा ४.०४ प्रतिशतले बढोत्तरी भएको अवस्था छ । मुलुकको लागि आवश्यक पर्ने करिव ७० लाख मे.टन धानमध्ये करिव १० लाख मे.टन धान उत्पादन उपुग रहेको छ । फलस्वरुप, चालु आ. व. को जेठ मसान्तसम्म करिब धान, धानको बीउ, चामलर कनिका गरि कूल ७ लाख ५३ हजार मे.टन. धान जन्य वस्तु आयात भएको छ र करिब ३८ अर्व ९४ करोड रुपैयाँ विदेशिएको छ ।

    विशेषगरि चालममा बढी निर्भरता, सोमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढी रोजाइ, छिमेकी मुलुकले धान निर्यातले लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृध्दि हुँदाहुँदै पनि धान/चामलको आयात अपेक्षाकृत कम हुन नसकिरहेको अवस्था छ । यसै परिप्रेक्ष्यमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा पनि मुलुकलाइ आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने विषय उल्लेख भइ आगामी वर्षहरुमामा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरि चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृध्दिका कार्यक्रमहरु तीनै तहका सरकारमार्फत सञ्चालनको व्यवस्था गरिनेछ । मलखाद, गुणस्तरीय बीउ र अनुसन्धानबाट प्राप्त नविनतम प्रविधिहरु किसान माझ पुर्याउन हाम्रा कार्यक्रमहरु केन्द्रित रहने छन् ।

    आगामी वर्ष देशभरका १८ जिल्लाका ५८ पालिकामा संघीय सशर्त वित्तिय हस्तान्तरण मार्फत चैते धान प्रवर्द्धन कार्यक्रम संचालन हुँदैछ भने प्रदेश मातहतका निकायहरुले पनि आफ्नै श्रोतबाट धान प्रवर्द्धनका लागि विविध कार्यक्रम संचालन गर्नेछन् । यसको अलावा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत संचालित धानका २१ जोन र ५ सुपरजोनहरुमार्फत वर्षे र चैते दुबै सिजनमा धानको सम्पूर्ण मूल्यश्रृंखला विकासमा कार्यक्रम संचालन हुदैछ । यसका साथै समयमै चैते धान र वर्षे धानको न्यूननतम समर्थन मूल तोक्नको लागि पनि कृषि विभागले समन्वय गरिरहेको छ । हालै सरकारले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्यको कार्यान्वयनमा केही जिल्लाहरुमा समस्याहरु आएको छ र उक्त समस्या सम्बोधनको प्रयास पनि मन्त्रालयवाट भइरहेको अवस्था छ । आगामी दिनमा सरकारले तोकेको समर्थन मूल्य किसानले पाउने वातावरण श्रृजना गर्न सरकारलेनै सो मूल्यमा खरिद गर्नको लागि संरचनागत र संस्थागत क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।

    यस दिशामा कृषि विभागले आफ्नो प्रयास जारी राखेनैछ । यस वर्षको २२औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा आषाढ १५ मा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र परिसर, खुमलटारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री रामनाथ अधिकारीज्यूको आतिथ्यतामा सरोकारवालाहरुको सहभागितामा विशेष समारोह कार्यक्रममा कृषक/धान वैज्ञानिक/पत्रकार लगायतका विभिन्न विद्यामा पुरस्कार तथा सम्मान वितरण र रोपाइँ गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने कार्यक्रम रहेको छ । त्यसै गरी धान दिवस तथा रोपाइ महोत्सवको अवसरमा संघीय तहमा  प्रधानमन्त्री र कृषि तथा पशुपन्छी विकास मन्त्रीको सन्देश प्रकाशन, पत्रकार भेटघाट कार्यक्रम, टेलिभिजन परिसम्बाद लगायतका क्रियाकलापहरु पनि संचालन गरिँदै छन् भने प्रदेश र स्थानीय तहहरुवाट पनि उक्त अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरिने मूल आयोजक समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    धानको महत्व एवं खाद्यसुरक्षा र पोषण सुरक्षामा धानको योगदानको प्रचार प्रसार र धान बालीको प्रवर्द्धनका लागि आगामी दिनमा तय गर्नुपर्ने कार्यदिशा बारे छलफल एवं बहस तथा यस विषयमा विभाग र मन्त्रालयलाई पृष्ठपोषण गरि २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सफल पार्न सम्बद्ध सबैमा  २२औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका  अध्यक्ष   तथा कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले  हार्दिक अनुरोध गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij