
काठमाडौँ। नेपाल बैंकर्स संघले आधारदर(बेसरेट) मा सुधार र ब्याज दर अन्तर(स्प्रेड रेट) हटाउन पर्ने माग गरेको छ ।संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझावमा यस्तो माग गरिएको हो ।बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा दिने ब्याज र कर्जा प्रवाह गर्दा लिने ब्याजबीचको अन्तर दरलाई स्प्रेड रेटको रुपमा बुझिने गर्छ । यो स्पेड रेटले गर्दा बैंकहरुले स्वतन्त्र रुपमा ब्याजदर निर्धारण गर्न नपाएकोले पनि समस्या भएको बैंकरहरूको गुनासो छ ।उनीहरूका अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रको मार्जिन घट्दो क्रममा छ । बैंकको नाफा घट्नुको एउटा कारण स्प्रेड रेटलाई पनि लिइएको छ । त्यही भएर यसलाई हटाउन माग गरिएको छ । अहिलेको ब्याजदर अन्तरको व्यवस्था व्यवस्था खुला बजार विपरी रहेको छ ।
साथै बैंकर्स संघले आगामी आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले आधार दरको गणना विधिलाई पुनरावलोकन गर्नुपर्ने माग गरेको छ । संघले आधार दर गणनामा सञ्चालन खर्चको शतप्रतिशत लेखांकन, ०.७५ प्रतिशत सम्पत्तिमा प्रतिफलको व्यवस्था, ऋणपत्र निष्कासनमा लागेको खर्च, निक्षेप तथा कर्जा सुरक्षण कोषमा निक्षेप सुरक्षणबापत भएको प्रिमियम खर्च समावेश गर्न माग गरेको हो ।यसैगरी संघले आगामी आवको मौद्रिक नीतिले बैंकहरुले ऋणपत्रको शतप्रतिशत रकम प्रोभिजन गर्नुपर्ने व्यवस्थालाई पनि संशोधन गर्न माग गरेका छन् । संघले कर्जा वर्गीकरण र कर्जा नोक्सानीको व्यवस्था सम्बन्धी नीतिलाई पनि परिमार्जन गर्न सुझाव दिएको छ ।
बैंकहरुले असल वर्गमा वर्गीकरण भएको कर्जामा १ प्रतिशत, १ देखि ३ महिनासम्म भाखा नाघेको कर्जालाई सूक्ष्म निगरानीमा राखी ५ प्रतिशत, ३ देखि ६ महिना भाखा नाघेको कर्जालाई कमसल, वर्गमा वर्गीकरण गरी २५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म भाखा नाघेको कर्जालाई शंकस्पदमा वर्गीकरण गरी ५० प्रतिशत र भाखा नाघेको १ वर्षपछि खराब कर्जामा वर्गीकरण गरी १०० प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था हाल रहेको छ । बैंकर्सले उक्त व्यवस्थालाई परिमार्जन गर्न माग गरेको जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij