
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ११ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। सेवोनले साउन ९ गते कम्पनीलाई हालको चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको हो।
हाल रिभर फल्स पावरको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता अर्थात् ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ। यो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी दोब्बर भई १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय थपियो, आयोजनाबाट प्रभावित बासिन्दाका लागि साउन २६ सम्मको समय
काठमाडौं । बुङ्गल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन मा आवेदन दिने समय साउन २६ गतेसम्मका लागि थप गरिएको छ। यद्यपि, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आज (आइतबार) सम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले कुल जारी पूँजी ८३ करोड रुपैयाँमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न पाएको हो। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ, जुन प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको हो।
गाजामा इजरायलद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनः अष्ट्रेलियाली प्रधानमन्त्री
क्यानबेरा ।अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजामा जारी मानवीय संकटबारे गहिरो चिन्ता व्यक्त गर्दै इजरायललाई अन्तर्राष्ट्रिय कानुनअनुसार सहायता पु¥याउन अनुमति दिन र सबै नागरिकको मानवअधिकारको संरक्षण गर्न आग्रह गर्नुभएको छ ।
अष्ट्रेलियन ब्रडकास्टिंग कर्पोरेशन ९एबीसी० मा आइतवार दिनुभएको अन्तर्वार्तामा उहाँले भन्नुभयो,“खाद्य सामग्री रोक्नु, पानी र औषधीजस्ता आधारभूत आवश्यकतामा पहुँच नदिनु – यस्ता कार्यहरू मानवताको सामान्य मूल्य र अन्तर्राष्ट्रिय कानुन दुवैको उल्लंघन हुन् । सबै पक्षले जिम्मेवार र सहानुभूतिपूर्ण व्यवहार देखाउनुपर्छ ।”
‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो : सभापति देउवा
पाटन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता ९एआई० केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उहाँले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताउनुभयो ।
गैर आवासीय नेपाली सघ पोर्चुगलको सपथग्रहण कार्यक्रम शनिबार पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न
लिस्बोन पोर्चुगल ।गैर आवासीय नेपाली सघ पोर्चुगलको सपथग्रहण कार्यक्रम शनिबार पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ । एन आर एन ए पोर्चुगलको दशौ महाधिवेशन बाट निर्वाचित अध्यक्ष दीपा काफ्ले लगाएत सम्पुर्ण कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई निर्वाचन समितिका सम्योजक गम्बिरजङ्ग गुरुङ्ग ले पद तथा गोपनिएताको सपथ ग्रहण गराएका थिए ।
उपभोक्ता समितिमार्फत गरिएका सिँचाइ आयोजनामा प्रभावकारिता र स्थायित्वको अभाव
काठमाडौं । मधेस प्रदेशमा खडेरीका कारण सिर्जित सिंचाई समस्याको समाधानका लागि खनिएका करिब ३ सय डिप बोरिङमध्ये धेरैजसो अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको देखिएको छ। सरकारले चैत्र यता विभिन्न ८ वटा जिल्लामा डिप बोरिङ स्थापना गरे पनि विद्युत, संरचना र व्यवस्थापन सम्बन्धी समस्याले गर्दा सिंचाईमा अपेक्षित सुधार आउन सकेको छैन।
सरकारले खडेरी समस्याग्रस्त क्षेत्रको स्थलगत अध्ययनका लागि पठाएको अन्तरमन्त्रालयीय प्राविधिक टोलीले प्रारम्भिक निष्कर्ष सुनाउँदै उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायित्वको गम्भीर समस्या देखिएको जनाएको छ। टोलीले आज मुख्य सचिव एकनारायण अर्याललाई प्रारम्भिक प्रतिवेदन मौखिक रूपमा बुझाएको हो।
अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएड) सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ ।
सरकारको अनुमति बिनै युएसएडसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उजुरी परेको थियो । समितिले उक्त उजुरीमाथि आज आयोगसँग जवाफ लिएको हो ।
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेकाे स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “वीपी कोइराला त्यस्तो व्यक्ति हुन्, जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको नेतृत्व गर्नुभयो । उहाँले रोपेको लोकतन्त्रको बीउका कारण आज हामीले विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्न सफल भएका छौं । उहाँको परिकल्पना भनेको समृद्ध राष्ट्र बनाउने, असमानता हटाउने र नागरिकका अधिकार सुनिश्चित गर्ने हो ।”
अहिले चित्त नबुुझे अधिनायकवाद भन्नेहरुलाई जेल हत्कडी थाहा नहुन सक्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गर्नुभएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुुवन ढुुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गर्नुभएको हो ।
इन्फिनिटी लघुवित्तको नाफा १०४% ले वृद्धि, वितरणयोग्य नाफा ८ करोड नाघ्यो
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै ९ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा ४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष १०४.७१ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो।
कम्पनीको कुल सञ्चालन आम्दानी झण्डै ४१ प्रतिशतले बढेको हुँदा नाफामा सकारात्मक असर परेको विश्लेषण गरिएको छ। यद्यपि, इम्पेयरमेन्ट चार्जमा भने वृद्धि देखिएको छ। अघिल्लो वर्ष २ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज चालू आर्थिक वर्षमा बढेर ४ करोड २० लाख रुपैयाँ नाघेको छ।
ग्रीन डेभलपमेन्ट बैंकको नाफा ७९.५३% ले वृद्धि, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म ६ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ८६ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको बैंकले यो वर्ष ७९.५३ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको हो।
बैंकको वितरणयोग्य नाफा पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत वर्ष चौथो त्रैमाससम्म वितरणयोग्य नाफा ६ करोड ७ लाख रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको ३ करोड १२ लाख रुपैयाँको तुलनामा करिब दोब्बर हो।
नयाँ बैंकको लाइसेन्स बाँड्ने समय अहिले नरहेको डेपुटी गभर्नर ढुंगानाको भनाइ
काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औंल्याएकी छन् । आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा आइतबार यहाँ आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ विषयक छलफलमा उनले यस्तो बताएकी हुन् ।
बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै उनले भनिन् , ‘डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।’
नाइमा र नाडाले आयोजना गर्ने छुट्टा छुट्टै अटो शोले ठूला व्यवसायिक घरानाहरूको विभाजन रेखा बाक्लो पार्ने आशंका
काठमाडौँ । नाइमा र नाडाले आयोजना गर्ने छुट्टा छुट्टै अटो शोले ठूला व्यवसायिक घरानाहरूको विभाजन रेखा बाक्लो पार्ने आशंका गरिएको छ ।नाइमाले साउन २१ गतेदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो र भदौ ३ गतेदेखि नाडाले नाडा अटो शो गर्ने भएबाट यस्तो आंशका बढेको हो ।
नेपालको सवारी साधन बजारको इतिहासमा पहिलो पटक एकै सिजनमा दुईवटा ठूला अटो शोको आयोजना हुन लागेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटो शोलाई सीजी ग्रुप, टाटा र एमएडब्लूले साथ दिन लागेका छन्।त्यसैगरी नेपाल अटोमोबाइल इम्पोट्र्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को अटो शोलाई शारडा ग्रुप, गोल्छा अर्गनाइजेसन, साइमेक्स इंक, पद्म ज्योति ग्रुप, लक्ष्मी ग्रुप, इन्टरकन्टिनेन्टल ट्रेडिङ, वैद्य ग्रुपको युनाइटेड ट्रेडर्स, विशाल ग्रुप र अग्नि ग्रुपले साथ दिने देखिएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँ कायम
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले घट्दै १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन दिनयता सुनको मूल्य लगातार घटिरहेको छ, जसले बजारमा सुन खरिद गर्ने उपभोक्तालाई केही राहत दिएको छ।
एनआरएनए कम्बोडियामा पराजुलीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति, उपाध्यक्षमा अधिकारी,कुवर,छेत्री र तामाङ, महासचिवमा केसी
काठमाडाैं, गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाको अधिवेशननले २०२५-२०२७ का लागि शिवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति सर्ब सम्मत चयन गरेको छ । नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष लाल सिंह खड्काले पद हस्तान्तरण गरेका छन ।
अमेरिकाको मिशिगनस्थित वालमार्टमा चक्कु प्रहार, ११ जना घाइते
काठमाडौं । अमेरिकाको मिशिगन राज्यको ट्राभल्स सिटीमा रहेको वालमार्ट सुपरमार्केटको एउटा शाखामा चक्कु प्रहार भएको छ, जसमा कम्तीमा ११ जना घाइते भएका छन्। बीबीसीले अधिकारीहरूलाई उद्धृत गर्दै खबर प्रकाशित गरेको छ।
घटनापछि एक जना संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूलाई तुरुन्तै नजिकैको म्यानहट्टन मेडिकल सेन्टर अस्पताल पुर्याइएको थियो, जहाँ उनीहरूको उपचार जारी छ।
अस्पतालका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ।
पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने समय साउन २६ सम्म थप
काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने समय साउन २६ गतेसम्मका लागि थप गरिएको छ। कम्पनीले हाल कायम रहेका १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर दिने (१०:५ अनुपातमा) गरी ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।
यो अनुसार कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ, जसको कुल अंकित मूल्य ३१ करोड ६३ लाख रुपैयाँ (प्रति शेयर १०० रुपैयाँ) बराबरको रहेको छ।
लोडसेडिङ सुरु भयो, पश्चिम चितवन र माडी क्षेत्रमा दैनिक ६ घन्टा लोडसेडिङ हुने तालिका सार्वजनिक
चितवन । नेपाल विद्युत् प्राधिकरणको लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले आइतबारदेखि लागू हुनेगरी लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।पश्चिम चितवन र माडी क्षेत्रमा आइतबारदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ । यो सँगै लोडसेडिङको सुरु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
केन्द्रले विद्युत् माग अत्यधिक बढेका कारण नियन्त्रित लोड व्यवस्थापन गर्नुपर्ने अवस्था आएको भन्दै सूचनामार्फत ३९३ घण्टाको गरी कुल ६ घण्टा विद्युत् कटौती हुने जानकारी दिएको छ ।सूचना अनुसार नारायणी माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म, दिउसो ३ बजेदेखि ६ बजेसम्म विद्युत जाने छ । त्यस्तै मेघौली विजयनगर फिडर क्षेत्रमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि राति ९ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । त्यसैगरी जगतपुर रामपुर फिडर क्षेत्रमा दिउसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत बन्द हुने भएको छ ।
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवा । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पु¥याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो ।
उहाँका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ ।
माओवादी अध्यक्ष दाहालको चेतावनी : “पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र जारी, एकजुट हुनुपर्ने समय”
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र आफ्ना नेतृत्वविरुद्ध योजनाबद्ध ढंगले षड्यन्त्र भइरहेकाले सबै नेता, कार्यकर्ता र समर्थक एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्ला केही समययता माओवादी आन्दोलन र यसको नेतृत्वलाई कमजोर बनाउने प्रयास पुनः सुरु भएको बताएका हुन्। उनले यसअघि भएका षड्यन्त्रहरूको झल्को दिँदै भने, “पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ। त्यसबाट केही साथीहरू भ्रमित भएका छन्। प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानी गरेर आन्दोलनविरुद्ध भ्रम फैलाउने काम गरिरहेका छन्।”
देशभर मनसुनी प्रभाव कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमा सक्रिय रहेकाले वर्षा गतिविधि पनि सीमित मात्रामा देखिएको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। साथै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij