
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ९२ करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको रूपमा लगानी गर्न प्रस्ताव खुला गरेको छ। राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक तथा वित्त कम्पनीहरूलाई लक्षित गर्दै प्रतिस्पर्धात्मक प्रस्ताव माग गरेको हो।
प्रस्ताव अनुसार, “क” वर्गका वाणिज्य बैंकलाई २ अर्ब ३४ करोड, “ख” वर्गका विकास बैंकलाई ४३ करोड ६७ लाख, र “ग” वर्गका वित्त कम्पनीलाई १४ करोड ६२ लाख रुपैयाँ बराबरको मुद्दती निक्षेप प्रस्ताव गरिएको छ।
यस लगानी प्रस्तावमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकको वेबसाइटमा उल्लेख गरिएका सवै शर्तहरू पूर्ण रूपमा पालना गर्नुपर्नेछ। प्रमुख शर्तहरूमा एनपीएल ८ प्रतिशतभन्दा नबढेको, खुद एनपीएल ३ प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति र कर्जा(निक्षेप अनुपात निर्धारण गरिएको सीमा भित्रको, निकटतम आर्थिक वर्षमा मुनाफामा रहेको, तथा शिघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त घोषणा फुकुवा भएको कम्तीमा ६ महिना बितेको हुनु आवश्यक छ।
उक्त प्रस्तावमा सहभागी हुन इच्छुक संस्थाहरूले तोकिएको ढाँचामा विवरणहरू भरेर इमेलमार्फत प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्ताव बुझाउने अन्तिम म्याद साउन १५ गते राति १२ बजेसम्म तोकिएको छ।
यो लगानी सन् २०२५ अगस्ट ११ देखि २०२६ अगस्ट ११ सम्म ३६६ दिनको अवधिका लागि हुनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij