
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक खातामा देखिएको मौज्दातभन्दा वास्तविक मौज्दात उल्लेख्यरूपमा कम देखिएपछि एक ठुलो आर्थिक अनियमितता सार्वजनिक भएको छ। लेजर अनुसार बैंकमा देखिएको मौज्दातभन्दा वास्तविक मौज्दात १ अर्ब २८ करोड रुपैयाँले कम देखिएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज विक्रम शाहको नाममा रहेको ११ लाख ९० हजार रुपैयाँ र अन्तरशाखा हिसाब मिलान नभएको ५ करोड ३० लाख रुपैयाँसहित कुल १ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ हिनामिना भएको अनुमान गरिएको छ।
बैंक मौज्दात र लेजरबीचको अन्तर विश्लेषण गर्दा, बैंकका पदाधिकारी र खाता सञ्चालकहरू मिलेमतोमा चेक काटी रकम व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको खुलासा भएको छ। रकम विभिन्न व्यक्तिहरुमार्फत नगद झिकिएको भए पनि, सो रकम बैंकको प्रणालीमा प्रविष्ट नगरी अनियमितता गरिएको अनुसन्धानबाट खुलेको छ।
यस घोटालामा संलग्न रहेको आरोपमा तत्कालिन सीईओ दिनेशकुमार रावत, निरज बिक्रम शाह, बिष्णु प्रसाद कक्षपति, र नेपालगन्ज शाखा प्रबन्धक दीपा थापा लगायत रहेका छन्। हालसम्म ४ जना पक्राउ परिसकेका छन् भने २ जनाको मृत्यु भइसकेको छ। यस प्रकरणमा कुल १०३ जना फरार प्रतिवादी रहेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij