
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले 'पावर समिट,२०२५'को लोगो सार्वजनिक गरेको छ ।आगामी असोज २९ र ३० गते (१५-१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो ।
"मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन" भन्ने मुल नारा सहित आयोजना हुन लागेको समिटको लोगोमा नेपालको ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यको उच्चस्तरको सम्भावना देखाइएको छ । यसको मूलखण्डमा रहेको हरियो पातजस्तै संरचनाले दिगोपनको संकेत गरेको छ भने, यहाँबाट नेपालको ऊर्जा उत्पादनका विभिन्न स्रोतहरू जस्तो जलविद्युत, सोलार, वीन लगायत पनि देखाइएको छ ।
लोगोमा ठूलो आकारमा देखाइएको जलविद्युत आयोजनाले नेपालको विशाल जलस्रोत क्षमता र स्वच्छ ऊर्जाको मुख्य आधार नै जलविद्युत हो भन्ने दर्शाउँछ । यसको छेउमा देखिएका आधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रणालीहरूले नेपालको ऊर्जा सुरक्षातर्फको यात्रालाई झल्काएको छ । त्यस्तै, सौर्य ऊर्जा लगायतले नवीकरणीय ऊर्जातर्फको विविधिकरणको पनि एकसाथ संकेत गरेको छ ।
पहाड र हिमालभरी देखिएका प्रसारण लाइनले नेपालमको विद्युत सीमापारका बजारमा विक्री गर्ने अन्तरदेशिय विद्युत व्यापारको तयारीलाई झल्काएको छ ।
विद्युतीय सवारी चार्जिङ स्टेशन, औद्योगिक क्षेत्र र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जा देशका विभिन्न क्षेत्रमा कसरी प्रयोग भईरहेको छ भन्ने देखाएको छ । लोगोमा प्रयोग भएका यी कुराले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै दक्षिण एशियाली क्षेत्रलाई ऊर्जा निर्यात गर्ने सम्भावनातर्फ लैजाने राष्ट्रको दुरदर्शी यात्रालाई प्रतिबिम्बित गरेका छन् ।
पावर समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गरेको छ भने कन्ट्रि पार्टनरका रुपमा भारतीय राजदूतावास रहेको छ । समिटमा १० वटा विभिन्न समसामयिक सत्रहरुमा छलफल हुनेछ भने ३० देशका १ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने अनुमान गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij