
काठमाडौँ । बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक आदेश जारी गरिएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई ध्यानदिएर १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन नपाउने गरी रोक आदेश जारी गरेका हुन् ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी सार्वजनिक गरे अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरिएको छ ।
देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण बाढी पहिरोजस्तो विपद्को जोखिम कम गर्न थप १५ दिन रातिको समयमा सवारीसाधन चलाउन नपाउने निर्णय भएको छ ।
यसअघि स्थानीय प्रशासनले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै ७ असारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij