Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

अलैँचीको भाउ प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँ ,यो भाउ सात वर्षकै उच्च

अलैँचीको भाउ प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँ ,यो भाउ सात वर्षकै उच्च

  • झापा । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । 

    अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा सोमबार प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । 'यो निकै राम्रो भाउ हो,' उनले भने, 'गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजार रुपैयाँसम्ममा भएको थियो ।' अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ ।

    विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजार रुपैयाँसम्म पुगेको थियो । सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन एक लाख सात हजार रुपैयाँ पुगेको थियो । २०६७ सालमा प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन ।

    भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत भएको उनको भनाइ छ । अहिले बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा किसान उत्साही भएका हुन् । किसानबाट यतिबेला किनेको अलैँची भण्डारण गरेर व्यापारीहरूले मङ्सिर–पुसतिर भाउ आकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् ।

    'एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म लगानी गरेका हुन्छन्,' महासङ्घका कार्यकारी निर्देशक ढुङ्गाना भन्छन्, 'आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन् । यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।'

    नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । 

    नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन । रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij