
काठमाडौँ । बन्दीपुर केबलकारले आईपीओ निष्कासन गरेको छ।सर्वसाधारणका लागि ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बुधबारदेखि कम्पनीले निष्कासन गरेको हो।
सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँका दरले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता सेयर वितरण गरिसकेको छ।
आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु–१ र गोरखाको पालुङटार–७ का बासिन्दालाई कम्पनीले सेयर बाँडफाँड गरेको थियो।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएकाहरुका लागि पनि ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको ५ लाख २९ हजार ४०० कित्ता सेयर बाँडफाँड गरेको थियो।
कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशतले हुन आउने ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ छ। बन्दीपुरले सेयर निष्कासन गर्न गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझिन्छ ।
गत वर्ष चैतसम्म कम्पनी १७ करोड ३ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ। कम्पनीको प्रति सेयर नेटवर्थ ९२.४१ रुपैयाँ छ। आयोजनाको अनुमानित कुल लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको जनाइएको छ।
केबलकार २०८१ जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आइसकेको छ। कम्पनीमा सबैभन्दा धेरै आरकेडी होल्डिङ्स् लिमिटेडको १६.१३ प्रतिशत सेयर छ।
टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ४.५१, पञ्चासे केबल कार एन्ड टुर्स लिमिटेडको २.२४, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.२३ र रोशन घिसिङको १.५६ प्रतिशत सेयर हिस्सा छ। कम्पनीका अध्यक्ष रामचन्द्र शर्माको १ लाख ८७ हजार सेयर स्वामित्व छ। आरकेडी होल्डिङ्स् र टुरिजम इन्भेष्टमेन्ट फण्डका अध्यक्ष शर्मा हुन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij