
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ ११ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
पहिलो महिनामै १४ अर्बले बढ्यो सरकारी ऋण, कुल सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब नाघ्यो
काठमाडौँ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महीनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालू आवको शुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब २ करोडले बढेर रु २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ । यो कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने
वीरगञ्ज। नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने व्यवस्था गरेको हो ।
मन्त्रिपरिषद् बैठकका १० निर्णय : ७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
काठमाडौँ । सरकारको ताजा निर्णयअनुसार अब नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल सात दिनभित्र दर्ता गर्नुपर्ने भएको छ। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी गराए। सरकारले अनियन्त्रित रूपमा प्रयोग भइरहेका सामाजिक सञ्जाललाई नियमनमा ल्याउँदै पारदर्शिता, उत्तरदायित्व र कानूनी दायरामा समेट्न दर्ता अनिवार्य गरिएको स्पष्ट पारेको छ। यस निर्णयले अनलाइन गतिविधिमा थप शिस्त कायम हुने सरकारको दाबी छ ।
शेयर बजार : नेप्से परिसूचक ५६.६९ अंकले बढेर २८२२.७८ बिन्दुमा, करिब ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार
काठमाडौँ । साताको कारोबार दिन मंगलबार (भदौ ११ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६.६९ अंकले बढेर २८२२.७८ बिन्दुमा बन्द भएको छ, जसले बजारमा २.०४ प्रतिशतको वृद्धि देखाएको छ।
आज कूल ७ अर्ब ६८ करोड ३८ लाख ६४ हजार ४४१ रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका १४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच भएका छन्।
बन्दीपुर केबलकारको आईपीओ सर्वसाधारणले भदौ १५ सम्म भर्न सक्ने
काठमाडौँ । बन्दीपुर केबलकारले आईपीओ निष्कासन गरेको छ।सर्वसाधारणका लागि ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बुधबारदेखि कम्पनीले निष्कासन गरेको हो।
सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँका दरले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता सेयर वितरण गरिसकेको छ।
आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु–१ र गोरखाको पालुङटार–७ का बासिन्दालाई कम्पनीले सेयर बाँडफाँड गरेको थियो।
श्रीनगर एग्रिटेकको आईपीओ खुला, स्थानीयले २५ भदौ र वैदेशिक रोजगारीमा गएकाले १५ गतेसम्म आवेदन दिन पाउने
काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले आईपीओ निष्कासन गरेको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई कम्पनीले आईपीओ खुलाएको हो।
कम्पनीले १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको छ ।अंकित मूल्य १०० रुपैयाँ दरमा उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीयले कम्पनीको आईपीओमा आवेदन दिन पाउनेछन्।
महोत्तरीमा बिल बीजकका नभएका ४६ लाख बढीको मालवस्तु पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरीले महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट साढे ४६ लाख रुपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको छ ।सशस्त्र प्रहरीले मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरको इ–रिक्सामा लोड गरी राखेको बील बिजक समेत नभएको आठ वटा सञ्चार उपकरण बरामद गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले ती सामान बरामद गरेको बताए ।
मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव
काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो ।
चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन
दमौली (तनहुँ)। यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवरद्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि एउटा समूह (क्लष्टर) मा कम्तीमा पनि एक सय रोपनी जग्गा हुनुपर्ने प्रावधान छ । कार्यक्रम सञ्चालनका लागि रु ६८ लाख बजेट रहेकामा रु ३९ लाख दुई हजार खर्च भएको लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत समूहलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा विविध सामग्री उपलब्ध गराइएको छ । लामिछानेका अनुसार मकै बीउ उत्पादनका लागि कृषक समूहलाई पाँच हजार ४१४ किलो बीउ वितरण गरिएको छ ।
काठमाडौँ। सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेसमक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिनुभएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन घोषित
काठमाडौँ।प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको समानुपातिक सांसद हुनुहुन्छ । समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाउनुभएको थियो ।
नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउने काम असोजभित्र सकिने तयारी
काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउने काम असोजभित्र सकिने तयारी गरिएको छ । सो बमोजिम बाँकी काम तीव्रगतिमा बढाइएको हो ।सडक विभागले सुरुङ मार्ग बनाउने काम अन्तिम चरणमा पुगेको बताएको छ। विभाग अनुसार असोजभित्र निर्माण कार्यम सम्पन्न हुनेछ। सुरुङ मार्ग निर्माणमा हालसम्म ९४.५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।
सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गरेर सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापन गर्ने कम्पनी छनोटको बाटो खोलिसकेको छ साथै सुरुङ मार्ग उपभोगबापत सवारीसाधनले तिर्नुपर्ने दस्तुर पनि तोकिसकेको छ।
बुधबार सुनको मूल्य बढेर तोलाको रु एक लाख ९९ हजार कायम
काठमाडौँ। बुधबार सुनको मूल्य बढेर तोलाको रु एक लाख ९९ हजार कायम भएको छ । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु तीन सयले बढेको छ भने चाँदी रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार निर्धारण भएको छ ।
त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ । हिजो मङ्गलबार एक तोला सुन रु एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । –
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij