Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

फ्रान्सले माडागास्करलाई ३ खप्पर फिर्ता गर्‍यो, औपनिवेशिक हिंसाको प्रतीक

फ्रान्सले माडागास्करलाई ३ खप्पर फिर्ता गर्‍यो, औपनिवेशिक हिंसाको प्रतीक

  • काठमाडौँ । फ्रान्सले औपनिवेशिक कालमा कब्जा गरिएका तीनवटा खप्पर माडागास्करलाई फिर्ता गरेको छ । तीमध्ये एउटा खप्पर मालागासी राजा टोएराको भएको विश्वास गरिन्छ ।

    राजा टोएराको टाउको ट्रफीमा परिणत

    सन् १८९७ मा फ्रान्सेली सैनिकहरूले राजा टोएरालाई हत्या गरी उनको टाउको काटेर पेरिस लगेका थिए । यसलाई ‘ट्रफी’को रूपमा राष्ट्रिय इतिहास संग्रहालयमा प्रदर्शनमा राखिएको थियो । बाँकी दुई खप्पर सकलाभा जातीय समूहका मानिसहरूको भएको पुष्टि भएको छ ।

    नयाँ कानूनपछि सम्भव भयो फिर्ता

    सन् २०२३ मा फ्रान्समा पारित भएको नयाँ कानूनले मानव अवशेषलाई उत्पत्ति भएको देशमा फिर्ता गर्न अनुमति दिएको थियो । यही प्रावधान अन्तर्गत, पहिलोपटक यी खप्पर माडागास्करलाई हस्तान्तरण गरिएको हो ।

    'नयाँ युगको सुरुवात'

    फ्रान्सेली संस्कृति मन्त्री रचिदा दातीले खप्पर फिर्ता गर्नु औपनिवेशिक हिंसाविरुद्धको कदम भएको बताइन् ।
    माडागास्करकी संस्कृति मन्त्री भोलामिरान्ती डोना माराले यसलाई दुई देशबीचको सम्बन्धमा नयाँ युगको सुरुवात भनेकी छन् । उनले १२८ वर्षदेखि यी अवशेषको अभावले देशको मुटुमा खुला घाउ बनाएको टिप्पणी गरिन् ।

    वैज्ञानिकहरूबीच शंका

    अनुसन्धानपछि खप्परहरू सकलाभा समुदायका भएको निश्चित भए पनि, तिनीमध्ये कुनै एक वास्तवमै राजा टोएराको हो भन्नेमा ठ्याक्कै प्रमाण छैन ।

    फ्रान्सको विगत स्वीकृत गर्ने प्रयास

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०१७ मा सत्तामा आएदेखि अफ्रिकामा भएको फ्रान्सेली अत्याचार स्वीकार्ने प्रक्रिया अघि बढाएका छन् ।

    • यस वर्ष अप्रिलमा म्याक्रोनले माडागास्कर भ्रमणका क्रममा औपनिवेशिक हिंसाका लागि माफी माग्ने संकेत गरेका थिए ।
    • माडागास्कर १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको थियो ।

    अन्य उदाहरणहरू

    • सन् २००२ मा दक्षिण अफ्रिकाले ‘होटेन्टोट भेनस’ नामकी महिलाको अवशेष फिर्ता पाएको थियो ।
    • २०२३ मा नै अर्को कानूनमार्फत नाजीहरूले लुटेका यहूदी कलाकृतिहरू पनि वास्तविक मालिक वा परिवारलाई फिर्ता गर्ने व्यवस्था भएको छ ।

    विशाल सङ्ग्रहालयमा अझै ३० हजार अवशेष

    फ्रान्सको मुसी डे ल'होम्मे संग्रहालयमा हाल पनि करिब ३० हजार खप्पर र कंकाल रहेका छन् । यीमध्ये धेरैजसो फ्रान्सले शासन गरेका देशहरूबाट ल्याइएका मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij