
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १६ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
आज नेप्से उक्लिएपनि कारोबार करिब एक अर्बले घट्यो , नेप्से परिसूचक २७६२.७४ बिन्दुमा
काठमाडौँ । आज सोमबार शेयर बजार उक्ले पनि कारोबार भने घटेको छ । सोमबार नेप्से परिसूचक १२.९१ले बढेर २७६२.७४ बिन्दुमा उक्लिएपनि कारोबार करिब एक अर्बले घटेको छ हो ।
आज एक करोड १४ लाख ४० हजार ८ सय ४४ कित्ता शेयरको खरिद बिक्री भइ कारोबार ५ अर्ब १० करोड ५७ लाख ४७ हजार ६सय ५७ रुपैया ६५ पैसा बराबर भएको हो । हिजो आइतबार १ करोड ४८ दाख ५ हजार ५ सय ६९ कित्ता शेयरको खरिद बिक्री भइ ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३ सय ७९ रुपैयाँ १० पैसाको कारोबार भएको थियो । आइतबार नेप्सेमा ३०.६९को गिरावट भइ नेप्से २७५०.३०मा झरेको थियो ।
एनआइएमबि एस क्यापिटल,Pioneer Law Associates र ICRA Nepal द्वारा “Road to IPO” कार्यक्रम सम्पन्न
काठमाडौं । NIMB Ace Capital Limited ले Pioneer Law Associatesर ICRA Nepal Limited सँगको सहकार्यमा २९ अगस्त २०२५ मा Hotel Aloft Kathmandu मा "Road to IPO” नामक कार्यशालामा सफलतापूर्वक आयोजना गरेको थियो । उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशन (Initial Public Offering) को प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन खुला
काठमाडौँ ।बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि आईपीओ निष्काशन खुला गरेके छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति कम्पनीलाई प्राप्त भएको थियो। त्यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।
कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए
जुम्ला ।कालीकोटको गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग बन्द भएकोे छ ।
गत आइतबारदेखि राजमार्ग पूर्ण रुपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । ती ट्रक पहिरो गएको स्थान नजिकै रोकिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । करिब १३ करोड रुपैयाँ बराबरका स्याउ ती ट्रकमा छन् ।
नेचुरल स्प्रिट्स नेपालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्काशन) ल्याउने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत (१५ लाख कित्ता साधारण सेयर) बिक्रीमा राख्ने योजना गरेको हो।
निष्काशन प्रक्रियाका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा नेचुरल स्प्रिट्स नेपालका अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
विसं २०७१ मङ्सिर १४ गते स्थापना भएको नेचुरल स्प्रिट्स नेपाल हाल नेपालको तीव्र गतिमा बढ्दो मदिरा उत्पादन कम्पनीका रूपमा परिचित छ। कम्पनीको उत्पादन कक्ष धादिङको गल्छी गाउँपालिकामा र केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा अवस्थित छ।
सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ: मन्त्री गुरुङ
ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभएको छ ।
ललितपुरमा आज नेपाल टेलिकम ९एनटिसी०ले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तक्र्रियामा मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटर्वकको पहुँच विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको डिजिटल फेर्मवर्क ९डिएनएफ०को उद्देश्य पूरा गर्न, डिजिटल सुशासन विस्तार, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ–तिहार अफर
काठमाडौं। नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुशीको ४० वर्ष” नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ। दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।
नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४०% सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।
ऊर्जाशील युवाहरु संलग्न सानीभेरी जलविद्युत आयोजना निर्माणार्थ सिटिजन्स बैंकको अगुवाइमा संयुक्त लगानी सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्रालिले प्रवर्द्धन गरेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसम्बन्धी संयुक्त लगानी सम्झौता भएको छ।
काठमाडौंमा आज आयोजित एक विशेष सहमारोहमा ४४.५२ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि सिटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक सहभागितामा आयोजना प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टसँग संयुक्त लगानी सम्झौता भएको हो। सम्झौताअनुरुप यस आयोजनामा बैंक तथा वित्तीय क्षेत्रको ७५ प्रतिशत र प्रवर्द्धकहरुको २५ प्रतिशत लगानी रहनेछ। \
वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गरिदिन अर्थमन्त्रीको आग्रह
काठमाडौैँ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका क्षेत्रमा देखिएको वित्त व्यवस्थापनको चापलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याइएको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजको आवश्यकता पूरा गर्न कठिन हुने अवस्था रहेको बताउनुभयो । प्रतिनिधिसभाबाट छोटो अवधिमा उक्त विधेयक पारित भएको स्मरण गर्दै उपप्रधानमन्त्री पौडेलले राष्ट्रियसभाको विषयगत समितिमा नपठाइ सभाबाटै पारित गरिदिन आग्रह गर्नुभयो । सो प्रस्तावमाथिको छलफलमा सांसदहरु गोपीबहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, विष्णुबहादुर विश्वकर्मा, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले भाग लिनुभयो ।
दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने
मुस्ताङ। यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो । यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले उल्लेख गर्नुभयो । गतवर्ष मुस्ताङमा पालन गरिएका आठ हजारको सङ्ख्यामा दसैँ लक्षित भेडाच्याङ्ग्रा बेँसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ । उहाँका अनुसार गतवर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्याङ्ग्रा बाहिरिएको थियो ।
लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय
लुम्बिनी। लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकासनिर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौबुँदे निर्णय भएको छ । स्याङ्जाको गल्याङमा आज सम्पन्न मुख्यमन्त्रीस्तरीय दोस्रो बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साझा विकाससँग सम्बन्धित नौबुँदे निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सीमा जोडिएका यी दुई प्रदेशबीच यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न मुख्यमन्त्रीस्तरीय बैठकमा साझा हित र चासोका विषयमा सहकार्य गर्ने प्रतिबद्धतासहित २१ बुँदे निर्णय भएको थियो । आजको बैठकमा रानीमहलमा भएको पहिलो बैठकको निर्णय कार्यान्वयनको अवस्था, सुधार गर्नुपर्ने पक्षलगायत विविध विषयमा समीक्षा भएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।
भारत र चीनबीचको सहमतिले नेपालको पर्यटन क्षेत्रलाई ठुलो धक्का
काठमाडौँ । भारत र चीनबीचको सहमतिले नेपालको पर्यटन क्षेत्रलाई ठुलो धक्का लाग्ने भएको छ । भारतीय पर्यटकहरू नेपालको बाटो भएर कैलाश मानसरोवरको तीर्थाटनमा जाने गरेकोमा अब भारतबाट सिधा चीन जान पाउने सहमति भएको हो ।
यसबाट नेपालको पर्यटन व्यवसायमा धक्का पुग्ने भएको चिन्ता चासो यस क्षेत्रका पर्यवेक्षकहरूमा चल्न थालेको हो । नेपालतर्फ चल्तीमा रहेका रसुवागढी र हिल्सा नाका प्रयोग गर्दै यो वर्ष वर्ष २०,००० भन्दा बढी भारतीय पर्यटकलाई मानसरोवर पुर्याउने उद्देश्य रहेको थियो । त्यसबाहेक काठमाण्डूबाट ल्हासासम्म हुने सोझो उडानबाट पनि केही पर्यटकहरू त्यसतर्फ जान्छन्। यो वर्ष रसुवामा बाढी आएर मितेरी पुल बगाइ दिएकोले बाटो अवरुद्ध रहेको छ ।
सुनमा विलासिता कर अब उपभोक्ताबाट मात्र लिने लगायतका नयाँ व्यवस्था
काठमाडौँ । सुनमा विलासिता कर अब उपभोक्ताबाट मात्र संकलन गरिने व्यवस्थालगायतका नयाँ व्यवस्था लागु गरिएको छ ।नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायमा लागू हुने विलासिता शुल्क सम्बन्धमा नयाँ व्यवस्था लागू भएको जानकारी दिँदै यस्तो जनाएको हो ।
महासंघले सोमबार जारी गरेको सूचना अनुसार अब विलासिता शुल्क उपभोक्ताबाट मात्रै संकलन गरिने व्यवस्था लागु गरिएको छ । यस अर्थमा व्यवसायी वा बैंक, होलसेलरबाट खरिद गर्दा शुल्क नलाग्ने भएको हो ।साथै उपभोक्ताले खरिद गरेको सुन फिर्ता गर्दा पनि कुनै शुल्क नलाग्ने महासंघले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
एनआईसी एशिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।
न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. ३ करोडसम्म प्रदान गरिने यस एन आई सी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ । सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा जनाएका छन् ।
प्यारामाउन्ट मोटर्सद्वारा प्रियंका रानी जोशी एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडर नियुक्त
काठमाडौं। नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई स्टाइलिश र डायनामिक एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडरको रूपमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ।
यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते, बुधबार प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भयो। यो साझेदारी दुई वर्षका लागि हुनेछ।
एमजीको दृष्टिलाई अघि बढाउने दुई वर्षे साझेदारीमार्फत, प्रियंका नेपालमा एमजी एस–फाइभ इभीको फेस बन्नेछ्,ि र आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन्।
‘एन्टीबायोटिक’रहित अण्डा उत्पादन गरिँदै
चितवन । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताउनुभयो । आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएको नवलपरासीको दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरुपमा निषेध गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले एन्टीबायोटिक प्रयोगमा रोक लगाएसँगै यो फर्ममा हामीले पूर्णरुपमा बन्देज गरेका छौँ ।” देशका अन्य फार्महरुमा पोषण हेर्ने चिकित्सकले ती फर्ममा एन्टीबायोटिक प्रयोग नगरेकाले अधिकांश फार्मबाट उत्पादन भएका अण्डा एन्टीबायोटिकरहित भएको उहाँको भनाइ छ । यसअघि दाना र पानीमा एन्टीबायोटिक प्रयोग गरिन्थ्यो । जसलाई एन्टीबायोटिक ग्रोथ प्रमोटर (एजीपि) भनिन्थ्यो ।
सुनको मूल्य बढेर सोमबार तोलाको २ लाख ५ हजार ३ सय कायम, यो मूल्य हालसम्मकै उच्च
काठमाडौँ । सुनको मूल्य बढेर सोमबार तोलाको २ लाख ५ हजार ३ सय कायम भएको छ । सोमबार सुनको मूल्य थप बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य थप वृद्धि हुँदै तोलामा २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ९० पैसा र बिक्रीदर १७६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij