
काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ। केन्द्रीय कार्यालयका अनुसार महाधिवेशनको तयारी करिब पूरा भइसकेको छ।
पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनका प्रतिनिधी र आयोजकको नाम तथा संख्या निश्चित भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, “दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी नै वर्तमान विधान महाधिवेशनका प्रतिनिधी हुन्। मृत्यु, पार्टी छोड्ने वा कारबाही भएका व्यक्तिको नाम हटाइएको छ। तर रिक्त स्थानमा नयाँ प्रतिनिधी छनोट गर्ने व्यवस्था छैन। दशौं महाधिवेशनपछि मनोनित वा अन्य पार्टीबाट समायोजित केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा मात्र रहनेछन्।”
महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधी र २ हजार ३ सय ४९ जना सहभागी हुनेछन्। केन्द्रीय कार्यालयले सबै प्रतिनिधीलाई एसएमएस मार्फत निमन्त्रणा पठाइसकेको छ। केही प्रतिनिधीको मोबाइल नम्बर अद्यावधिक नभएकोले सम्बद्ध जिल्ला कमिटीलाई जानकारी दिन निर्देशन दिइएको छ।
पार्टीले विधान महाधिवेशनको मुख्य नारा तय गरेको छ:
"निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य"।
केन्द्रीय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य प्रतिवेदनहरूमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन छन्। यस्तै निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन छपाइको क्रममा रहेको छ। प्रतिनिधी परिचय पत्र छपाइ भइसकेको छ र अनलाइनमार्फत पनि प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
गोदावरी सनराइज हलमा प्रवेशका लागि चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ। ढोकामा प्रतिनिधीले परिचय पत्रको QR कोड स्क्यान गरेर मात्र प्रवेश पाउनेछन्। खाना र खाजाको व्यवस्था पनि पूर्ण गरिएको छ।
महाधिवेशनको तयारी अन्तर्गत हल सजाउने र मञ्च व्यवस्थापनको काम भइरहेको छ। विभिन्न जनबर्गीय संगठन र स्थानीय कमिटीले स्वागत द्वार निर्माण, हसिंया–हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने काम गर्दैछन्। ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्दैछ भने भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर राख्ने तयारी गरेको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन्। महाधिवेशनको कार्यसूची तयार गर्न महासचिव शंकर पोखरेलको उपस्थितिमा बैठक बसिरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij