
काठमाडौँ ।दशैं आउन अब तीन साता भन्दा कम समय बाँकी छँदा आन्तरिक हवाई यात्राको भाडा सामान्यभन्दा दोब्बर पुगेको छ। सामान्य अवस्थामा काठमाडौं–भद्रपुर यात्रामा ६ हजारदेखि ६ हजार ५ सय रुपैयाँ लाग्ने भए पनि असोज १३ गते फूलपातीको दिनमा यती एयर र बुद्ध एयरले दुईतर्फी भाडा १२ हजार एक सय रुपैयाँ तोकेका छन्। बुद्ध एयरले भदौ २१ गतेका लागि भने ६ हजार ३९८ रुपैयाँमा टिकट उपलब्ध गराएको छ।
त्यस्तै, काठमाडौं–धनगढीको सामान्य भाडा ७ हजारदेखि ७ हजार ५ सय रुपैयाँ भए पनि फूलपातीको दिन १३ हजार एक सयदेखि १७ हजार रुपैयाँ तोकिएको छ। सुर्खेतको भाडा ११ हजारदेखि १३ हजार ८ सय रुपैयाँ र नेपालगञ्जको ९ हजार ७ सयदेखि १३ हजार एक सय रुपैयाँ तोकिएको छ। अहिले नेपालगञ्जको भाडा ६ हजार २ सय र सुर्खेतको ७ हजार ४ सय रुपैयाँ मात्र रहेको छ।
भाडा महँगो हुनुको कारणबारे वायुसेवा कम्पनीले नागरिक उड्डयन प्राधिकरणले तोकेको न्यूनतम र अधिकतम सीमा भित्र रहेर तोक्नुपर्ने नियम भएको र चाडपर्वमा यात्रुको चाप अत्यधिक हुने भएकाले भाडा बढ्ने बताएका छन्। यती एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले चाडपर्वमा १० प्रतिशत मात्रै सस्तो टिकट हुने भएकाले यात्रुलाई महँगो लागेको बताए।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा नियमन निर्देशिका २०७३ अनुसार कम्पनीलाई यात्रुको चाप अनुसार भाडा तोक्ने अधिकार दिएको छ। भाडा तोक्दा फ्युल सरचार्ज, एयरपोर्ट कर र १३ प्रतिशत भ्याट जोडिन्छ। प्राधिकरणले एटिआर र ट्विनअटर विमानको फ्युल खपतलाई आधार मानेर सरचार्ज निर्धारण गर्ने गरेको छ।
हालसम्म दशैंका लागि आन्तरिक हवाई टिकटको ३५ देखि ४० प्रतिशतसम्म बुकिङ भइसकेको छ। बुद्ध एयरका अनुसार तुम्लिङटार उडानका टिकट पूर्ण रूपमा बिक्री भइसकेका छन् भने अन्य गन्तव्यमा ४० प्रतिशत नजिक बुकिङ भएको छ। श्री एयरलायन्स र यती एयरलायन्सले पनि ४० प्रतिशत टिकट बुकिङ भएको बताएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij