
काठमाडौँ।सरकारले फेसबुकलगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर अटो क्षेत्रमा परेको छ।
दशैं–तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा विभिन्न अटो कम्पनीहरूले नयाँ सवारीसाधन, अफर तथा स्कीमहरू फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका थिए। तर प्रतिवन्धपछि ग्राहकसमक्ष जानकारी पुर्याउन कठिन भएको व्यवसायीहरूको भनाइ छ।
अटो व्यवसायीहरूका अनुसार, अधिकांश कम्पनीहरूले आफ्ना उत्पादन र सेवाबारे जानकारी दिन आधिकारिक फेसबुक पेज प्रयोग गर्दै आएका थिए। तर अहिले भने नयाँ प्रडक्ट, अफर र सुविधाबारे प्रचार–प्रसार गर्न अप्ठ्यारो परेको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष कृष्ण दुलालका अनुसार सामाजिक सञ्जालमा प्रतिवन्धको असर अटो मात्र नभई आइटी क्षेत्रमा पनि परेको छ।
उनले भने, “चाडबाड अघि कम्पनीले नयाँ प्रडक्ट ल्याउने, अफर–स्कीम सार्वजनिक गर्ने प्रथा हुन्छ। तर अहिले त्यस्ता जानकारी ग्राहकसम्म पुर्याउन सकिएको छैन। बिक्री प्रवर्द्धन र विज्ञापन सामाजिक सञ्जालमै निर्भर भएकाले प्रतिवन्धले ठूलो असर पारेको छ।”
दुलालका अनुसार फेसबुकमाथिको प्रतिवन्ध लामो समय रहन नहुनेमा जोड दिँदै उनले यसले बजार गतिविधि र ग्राहक–व्यवसायीबीचको सम्पर्कमा बाधा पुर्याएको बताए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij