Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गर्न सूचना

जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गर्न सूचना

  •  

    दाङ । दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयले जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेका छन् । यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ को प्रदर्शनका क्रममा कार्यालय तोडफोड तथा आगजनीपछि चोरी भएका सामान फिर्ताका लागि आग्रह गरेका हुन् ।

     

    उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेको छ । कार्यालयका निमित्त प्रमुख उपन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिक्स, कुर्सी, टेबल, फ्रिजलगायत सामग्री चोरी भएका उल्लेख छ । 

     

    कार्यालयले सामाजिक सञ्जालमा देखिएका तस्बिर तथा भिडियो, सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान भइसकेको जनाएको छ ।

     

    चोरी भएका सामान तुरुन्त फिर्ता गर्न वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन कार्यालयले अनुरोध गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेकाले  दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउने तयारी गरेको छ ।

     

    त्यस्तै उच्च अदालत तुलसीपुरबाट कम्प्युटर, फ्रिज, सोफालगायत सामग्री चोरी भएकाले तुरुन्तै फिर्ता गरिदिन सूचना अधिकारी कृष्णप्रसाद शर्माले आग्रह गर्नुभयो । त्यसैगरी इलाका प्रशासन कार्यालय तुलसीपुरबाट पनि सोफा, कुर्सीलगायत सामान चोरी भएका कार्यालय प्रमुख महेश गुरुङले जानकारी दिनुभयो । 

     

    तुलसीपुरस्थित नगरविकास समितिको कार्यालय पूर्ण रूपमा जलाएर नष्टगरी निवासबाट सुनका विभिन्न प्रकार छ थान गरगहना, ल्यापट एक थानलगायत सामग्री चोरी भएका कार्यालय प्रमुख लीलाधर शिवाकोटीले जानकारी दिनुभयो । उहाँले विगत ३८ वर्षदेखि तुलसीपुरमा बसेर आफूले कमाएका सामग्री, सुनका गरगहना र केही नगद चोरी गरेर लगेकाले फिर्ता गर्नका लागि सूचना सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

     

    भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि एक सूचनामार्फत कार्यालयबाट चोरी गरेका सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । त्यसैगरी, यहाँका आगजनी तथा तोडफोड भएका कार्यालयले पनि चोरी गरेको सामान फिर्ता गर्न सूचना जारी गरेका छन् । अटेर गरेमा सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियो, सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचानगरी कारबाही गरिने सूचनामा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij