
काठमाडौँ । बंगलादेशी लेखापरीक्षक कम्पनीले १० बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्ने काम थालेको छ । ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्ने को काम पाएको बंगलादेशको चार्टर्ड एकाउन्टेन्ट्स कम्पनी होवलदार युनुस एण्ड कम्पनी काम सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले आवश्यक मापदण्ड अपनाइ नेपालका ठुला वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर मापन गर्न विदेशी कम्पनीहरू मध्येबाट बंगलादेशको उक्त कम्पनीलाई छनोट गरेको थियो । उक्त कम्पनीले नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, ग्लोबल आइएमई, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणको काम पाँच महिना भित्र पूरा गर्नेछ ।
राष्ट्र बैंकले टेण्डरमार्फत गत साउन ७ गते कम्पनी छनोट गरेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ऋण सर्तअनुसार राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको ऋणको परीक्षणका लागि छनौट गर्नुपर्ने पक्रिया अपनाइ होवलदार युनुस एण्ड कम्पनीसँग ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता गरिसकेको छ।
लोन पोर्टफोलियो र सम्पत्ति भोलुम ठूलो भएका आधारमा परीक्षणका लागि १० बैंक छानिएका हुन्।
राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले होवलदार युनुस एण्ड कम्पनीले पहिलो चरणमा बैंकहरूको अफसाइट र दोस्रो चरणमा अनसाइट रिभ्यू गर्ने जानकारी सार्वजनिक गरेका छन् । होवलदार युनुस एण्ड कम्पनीसँग यसअघि राष्ट्र बैंकको आन्तरिक लेखा परीक्षण गरेको अनुभव छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij