
काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर बिक्री गर्न अनुमति दिएको छ ।राष्ट्र बैंकले दिएको स्वीकृति अनुसार हबिब बैंकले नेसनल लाइफ इन्स्योरेन्सलाई सेयर बिक्री गर्न पाउने भएको हो ।
पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको सेयर बिक्री गर्दा नेशनल लाइफले किन्न पाउने भएको हो । बिक्री गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने थियो । राष्ट्र बैंकले हिमालयन बैंकलाई पत्र पठाउँदै नेशनललाई सेयर बिक्री गर्न भनेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्न गत साउन २९ गते सम्झौता गरेको थियो । बैंकको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १२ रुपैयाँ ८० पैसामा सेयर बिक्री गर्न सूचना जारी गरेको थियो । तर, इन्स्योरेन्सले प्रतिकित्ता १सय १८ रुपैयाँ ८० पैसाका दरले सेयर किनेको छ । हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार बढी कित्ता सेयर नेशनलले किनेको हो । नेशनलले हबिबको सेयर प्रतिकित्ता ११८.८८ रुपैयाँमा किनेको छ । हबिबको उक्त सेयरमा ३ अर्ब १६ करोड ३ लाख ६४ हजार २७० रुपैयाँमा नेशनलले लगानी गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गर्न पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था छ । हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत सेयर थियो भने नेशनल लाइफको १.२५ प्रतिशत सेयर स्वामित्व छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij