Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

उत्पादनमूलक क्षेत्रमा गतिविधि बढ्न नसक्दा भन्सार महशुलको अपेक्षित हिस्सा बढेन

उत्पादनमूलक क्षेत्रमा गतिविधि बढ्न नसक्दा भन्सार महशुलको अपेक्षित हिस्सा बढेन

  • काठमाडौँ । उत्पादनमूलक क्षेत्रमा अपेक्षित गतिविधि बढ्न नसक्दा भन्सार महशुलको उठती अपेक्षाकृत नबढेको देखिएको छ ।तुलनात्मकरूपमा अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत वर्ष भन्सार महशुलको वृद्धि एक प्रतिशत नाघ्न नसकेको हो ।

    अर्थमन्त्रालयको तथ्यांक अनुसार गत आवमा नेपालको राजस्व परिचालनमा आयकर हिस्सा खस्किएर अन्तःशुल्कको हिस्सा एक प्रतिशतले  बढेको हो ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा समग्र राजस्व संकलनमा भन्सार महशुलको हिस्सा ०.६ प्रतिशतले बढेको छ । अघिल्लो आव २०८०/८१मा १९ प्रतिशत थियो । त्यसैगरी आव २०८१/८२मा  आयकर हिस्सा घटेर २५.३ प्रतिशतमा झरेको छ । अघिल्लो आव २०८०/८१ मा २६.८ प्रतिशत थियो ।

    आव २०८०/८१ मा १३.८ प्रतिशतमात्र रहेको अन्तःशुल्क हिस्सा एक प्रतिशत बढीले बढेर  २०८१/८२ मा १४.९ प्रतिशतमा उक्लिएको छ । गत आवमा आयकर लक्ष्यको ७६.२२ प्रतिशतमात्र उठेको छ । अन्तःशुल्क भने ८९.८५ प्रतिशत उठेको छ ।यो आवमा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । समग्र राजस्व परिचालन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड थियो ।

    अर्थ मन्त्रालयका अनुसार यस वर्ष ३ खर्ब ९० अर्ब ७० करोड आयकर संकलन लक्ष्य रहेकोमा २ खर्ब ९७ अर्ब ८१ करोडमात्र संकलन भएको छ । यसमा आयकर २ खर्ब ६७ अर्ब ६० करोड र ब्याजकर ३० अर्ब २१ करोड छ ।

    यी दुई शीर्षकको राजस्व परिचालन लक्ष्यको क्रमशः ७८.५६ र ६०.३२ प्रतिशतमात्र भएको छ । मन्त्रालयका अनुसार यस आवमा ब्याजदरमा कमी आएका कारण आयकर अन्तर्गत ब्याजकर संकलन कम भएको हो । यसको असर समग्र आयकरमा देखिएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तलरताका कारण वर्षभरि ब्याजदर न्यून हुन पुगेको थियो ।

    राजस्व परिचालन संरचना अनुसार  भन्सार महसुलमा ठूलो परिवर्तन नदेखिनुमा गत वर्षको बाढी पहिरोले रसुवागढी र तातोपानी नाका बन्द भएर आयात प्रभावित हुनु पनि कारण रहेको कतिपय विज्ञ बताउँछन् । चीनबाट आयात गर्ने कतिपय व्यापारीहरूले सोही अवधिमा मगाउन खोजेको मालसामान मगाउन नसक्दा, उत्पादनमूलक क्षेत्रको गतिविधि बढ्न नसक्दा, घरजग्गा कारोबारमा अपेक्षित गतिविधि बढ्न नसक्नाले पनि भन्सार महशुलले फड्को मार्न नसकेको हो । गत वर्षका पछिल्ला महिनामा आयात बढेर भन्सार महशुलमा यो न्यून वृद्धि देखिएको उनीहरू बताउँछन् ।

    २०८१/८२ मा भन्सार महसुल हिस्सा १९.६ प्रतिशत छ । २०८०र/१ मा १९ प्रतिशत थियो ।सरकारको राजस्वमा सबैभन्दा धेरै योगदान दिने मूल्य अभिवृद्धि कर (भ्याट) हिस्सासमेत अपेक्षा गरे अनुसार बढ्न नसकेको हो ।

    भ्याट हिस्सा २०८१/८२ मा २९ प्रतिशत छ । २०८०/८१ मा भने २९.३ प्रतिशत हिस्सा भ्याटको देखिन्छ । गैरकर राजस्व हिस्सा १०.९ प्रतिशत छ । अघिल्लो आवमा गैरकर राजस्व हिस्सा १०.८ प्रतिशत थियो । शिक्षा सेवा शुल्क हिस्सा समेत समान ०.३ प्रतिशत छ । 

    गत आव वस्तु आयात १३.३ प्रतिशतले बढेको थियो । कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबर वस्तु आयात भएको थियो । आयातित वस्तुबाट सरकारले भन्सार महसुल, अन्तःशुल्क र भ्याट संकलन गर्छ । यसरी भन्सार बिन्दुमा संकलन हुने कर अघिल्लो आवको तुलनामा बढेको देखिन्छ ।

    अर्थ मन्त्रालयका कुल संकलन भएको राजस्वमध्ये २०८१/८२ मा भन्सार बिन्दुबाट ४५ प्रतिशत र आन्तरिक राजस्व ५५ प्रतिशत संकलन भएको छ । २०८०/८१ मा भन्सार बिन्दुबाट ४४.३१ प्रतिशत र आन्तरिक राजस्व हिस्सा ५५.६९ प्रतिशत संकलन भएको थियो । 

    २०८१/८२ मा भन्सार महसुल लक्ष्यको ७५.१२ प्रतिशतमात्र उठेको छ । यस वर्ष सरकारले भन्सार महसुल ३ खर्ब ७ अर्ब बराबर संकलन लक्ष्य लिएको थियो । संकलन भने २ खर्ब ३० अर्बमात्र छ ।

    त्यसो त यो गत आवको तुलनामा भने धेरै हो । गत आव भन्सार महसुल २ खर्ब १ अर्बमात्र उठेको थियो । गत आव लक्ष्यको ६५.३९ प्रतिशतमात्र भन्सार महसुल उठेको देखिन्छ । यस आवमा पैठारीतर्फ भ्याट लक्ष्यको ८७.८१ प्रतिशत राजस्व संकलन भएको छ । अन्तःशुल्क समेत पैठारीतर्फ लक्ष्यको ८७.३६ प्रतिशत संकलन भएको देखिन्छ ।

    गत आवको पुस, चैत र असारमा खर्बमाथि राजस्व संकलन भएको देखिन्छ । २०८१/८२ मा सबैभन्दा धेरै असारमा संकलित राजस्वको १३.८१ प्रतिशत उठेको छ । यस महिना १ खर्ब ६२ अर्ब ७४ करोड राजस्व संकलन भएको छ । पुसमा १ खर्ब ६० अर्ब संकलन भएको छ । चैतमा १ खर्ब ११ अर्ब संकलन भएको तथ्यांकमा छ ।

    गत आवमा बाढी पहिरोले अर्थतन्त्रमा समस्या ल्याएको थियो भने यो वर्ष जेनजीको आन्दोलन अर्थतन्त्रलाई संकटमा पारेको देखिन्छ । जेनजी आन्दोलनको बाधा समाधान हुन सके, लगानीकर्तामा विश्वास वृद्धि गर्न सकिए, सुरक्षाको प्रत्याभूति दिलाउन सके उत्पादनमूलक क्षेत्रको गतिविधि बढ्ने अपेक्षा गर्न सकिने र राजस्वमा भन्सार महशुल र आयकरको हिस्सा बढी सुनिश्चित हुन सक्ने पर्यवेक्षक विज्ञहरूको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij