
गण्डकी। कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ । रुपा ताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २० हजार किलोग्राम उत्पादन घटेको हो । विगत २४ वर्षदेखि रुपा तालको संरक्षण र पुनःस्थापनामा संलग्न सहकारीले ताल संरक्षणसँगै माछाको संरक्षण र उपयोग गर्दै आएको छ । गत वर्ष सहकारीले विभिन्न जातका ४० हजार ८५ केजी माछा उत्पादन गरेकामा यस वर्ष घटेर २१ हजार ९१० केजी मात्रै उत्पादन भएको हो । माछा उत्पादनमा कमी आएसँगै सहकारीको आम्दानीमा पनि ठूलो असर परेको सहकारीका निवर्तमान अध्यक्ष शिवराज अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार गत वर्ष रु एक करोड ७१ लाख ९७ हजार ६२४ बराबरको माछा बिक्री भएकामा यस वर्ष रु एक करोड आठ लाख ४६ हजार ९६६ बराबरको माछा बिक्री भएको छ ।
अघिल्लो वर्षको तुलनामा करिब रु ६० लाखको आम्दानी घटेको र यसमा वातावरणीय प्रभाव तथा चराको प्रकोप नै मुख्य कारण रहेको उहाँको बुझाइ छ । रुपा तालमा विशेषतः जाडोको समयमा आउने जलेवा चरा माछा उत्पादनमा कमी आउनुको प्रमुख कारक मानिएको छ । “हरेक वर्ष कात्तिकदेखि तीन÷चार महिनाको समयमा रुपा तालमा जलेवा चरा आउने गरेका छन् । हरेक याममा १५० देखि २५० को सङ्ख्यामा यी चरा आउने गरेका छन्”, निवर्तमान अध्यक्ष अधिकारीको भनाइ छ । जाडो याममा आउने जलेवाको बासस्थान भने पोखराको फेवाताल किनाराको रानीवन हो । रानीवनबाट बिहान ७ः०० बजेतिर समूहमा आउने यी चरा दिनभर रुपा तालमा बसेर बेलुका पुनः रानीवन नै फर्कने गरेका छन् । अधिकारीका अनुसार यसरी आउने चराले करिब ९ः०० बजेसम्म माछा खाएर दिनभरि ताल किनाराका रुखका मुडा तथा ठुटामा बस्ने गर्दछन् । विगतका वर्षमा असोज/कात्तिकको समयमा मात्र माछाका भुरा छोड्ने गरेकामा जलेवाको प्रकोपलाई दृष्टिगत गरी माघ÷फागुनको समयमा पनि भुरा छोड्न थालिएको छ । जलेवाले सकेसम्म भुरा माछा नै खाने भएकाले असोज कात्तिकमा केही मात्रामा छोडे पनि पुनः माघ फागुनमा पनि छोड्न थालिएको अधिकारीले जानकारी दिनुुभयो ।
पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले माछाको सिकार गर्ने जलेवा सानो र ठूलो दुई प्रजातिको हुने र सानो जलेवाले समूहमा आएर साना माछा मात्रै खानसक्ने बताउनुभयो । ठूलो जलेवाले भने ठूला माछाको पनि आहारा गर्ने गरेको उहाँले सुनाउनुभयो । पोखरा र आसपासका जलाशयमा गरिएको पन्छी गणनाबाट हालसम्म १०६ प्रजातिका जलचरा अभिलेख गरिएको उहाँले जानकारी दिनुभयो । “हिउँदको समयमा जलचरा विशेषतः साइवेरिया, मङ्गोलियाबाट यस क्षेत्रमा जाडो छल्न आउँछन् । कात्तिकदेखि आउने यी चराहरू माघसम्म यहाँ रहेर पुनः आफ्नै बासस्थान फर्कने गर्दछन्”, अध्यक्ष घिमिरेले बताउनुभयो ।
जलचराहरू पोखराका फेवाताल, कमलपोखरी तालसहित लेखनाथ क्षेत्रका बेगनास ताल, रुपा ताल, खास्टे ताल, गुँदे ताल, न्युरेनी ताल, मैदी ताल, दिपांग ताल आदिमा जाने गरेको छन् । पोखरा आसपासमा आउने ग्रीष्मकालीन चराहरू भने बच्चा कोरल्नका लागि आउने गरेको छन् । ग्रीष्मकालीन समयमा भारतीय उपमहाद्वीपको तल्लो तटीय क्षेत्रबाट गर्मी छल्नका लागि पनि चराहरू आउने गरेको पन्छी समाजले जनाएको छ । तालको संरक्षण र उपयोगको लक्ष्यका साथ विसं २०५८ मा ३६ जना अग्रजको पहलमा स्थापना भएको सहकारीले हालसम्म ताल क्षेत्रभित्र बसोबास गर्ने स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन निरन्तर प्रयास गर्दै आएको छ । ‘एक घर, एक परिवार–समान सेयर, समान मुनाफा’ को नीतिअनुसार सहकारीले हाल एक हजार ४९ सेयर सदस्य समेट्दै रु चार करोड १८ लाख ४० हजारको सेयर पुँजी सङ्कलन गरिएको छ । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij