
काबुल ।अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामाबादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गर्नुभयो भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’ जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो ।
सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भएको विभाजनपछि भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी बनेका हुन् । यी दुवै मुलुकले बारम्बार युद्ध र एकअर्कामाथि आतङ्कवादको आरोप आदानप्रदान गर्दै आएका छन् ।
तर पछिल्ला महिनाहरूमा अफगानिस्तानसँगको सम्बन्ध कमजोर हुँदै गए पनि पाकिस्तानले भारत–तालिबान सम्बन्धलाई सहज रूपमा बढ्दै गएको रूपमा हेरेको छ ।
गत अक्टोबर ९ मा तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी नयाँदिल्ली पुगेपछि भारत–तालिबानबीचको कूटनीतिक निकटता औपचारिक बन्यो । यो सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि उच्चस्तरीय तालिबान नेताको भारत भ्रमण हो ।
भारतले मुत्ताकीका लागि रातो कार्पेट ओछ्याएको दिनै काबुल र पाकिस्तान सीमासँगै बजार क्षेत्रमा विस्फोट भएको थियो ।
अफगान विशेषज्ञ वाहिद फकिरीका अनुसार भारत–तालिबानको यो मेलमिलापले पाकिस्तानलाई तीव्र प्रतिक्रिया दिन बाध्य बनाएको हो । उहाँका शब्दमा, “नयाँदिल्लीले मुत्ताकीलाई आमन्त्रित गरेर पाकिस्तान र अफगानिस्तानबीचको तनाव झन् बढाउने उद्देश्य राखेको छ ।”
त्यो विस्फोटको जिम्मेवारी कसैले नलिए पनि तालिबान सरकारले इस्लामाबादमाथि ‘अभूतपूर्व आक्रमण’ गरेको आरोप लगायो र त्यसको प्रतिशोधस्वरूप आक्रमण ग¥यो ।
यसपछि तोपखाना र ड्रोन आक्रमणको आदानप्रदान हुँदै दुवै मुलुकबीच वर्षौंयताकै भीषण हिंसा फैलियो । प्रारम्भिक युद्धविराम भङ्ग भएपछि अक्टोबर १९ ९आज० मा दोस्रो युद्धविराम सम्झौता गरिएको छ ।
– छिमेकीलाई दोष दिने प्रवृत्ति –
एक समयका निकट सहयोगी अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध अमेरिकी सेनाको फिर्ती र तालिबानको सत्तारोहणपछि चिसिँदै गएको हो ।
इस्लामाबादले सुरुआती दिनहरूमा तत्कालीन गुप्तचर प्रमुख फैज हमीदमार्फत ‘सबै कुरा ठिक हुनेछ’ भन्दै आशावादी वक्तव्य दिएको थियो । तर पाकिस्तानमा बढ्दो आतङ्कवादी आक्रमणले त्यो विश्वास भत्कायो ।
पाकिस्तानी अधिकारीहरूका अनुसार तालिबान सरकारले आतङ्ककारी समूहहरूलाई सुरक्षित आश्रय दिइरहेको छ । यी मध्ये पाकिस्तानी तालिबान ९टिटिपी० र यसका सम्बद्धहरू मुख्य रूपमा सुरक्षा बलहरूमाथिका आक्रमणका लागि जिम्मेवार छन् ।
पाकिस्तानी सुरक्षास्रोतका अनुसार अक्टोबर महिनामै अफगानतर्फबाट भएका आक्रमणमा १०० भन्दा बढी सुरक्षाकर्मी र प्रहरी अधिकारी मारिएका छन् ।
यो हिंसाले पाकिस्तानमा अफगान शरणार्थीहरूलाई लक्षित गर्दै सामूहिक निर्वासन अभियानलाई तीव्र बनाएको छ ।
पूर्व पाकिस्तानी कूटनीतिज्ञ मलिहा लोधीका अनुसार मुत्ताकीको नयाँदिल्ली भ्रमण ‘आक्रोश निम्त्याउने’ विषय त हो, तर पाकिस्तानका लागि ‘प्रतिशोधको कारण होइन’ ।
उहाँले भन्नुभयो, “तालिबानले टिटिपीमाथि नियन्त्रण गर्न अस्वीकार गर्नु नै पाकिस्तानको वास्तविक असन्तोष हो ।”
पाकिस्तानी सेनाले पनि भारतमाथि टिटिपीलाई समर्थन गरेको आरोप लगाएको छ तर भारतको विदेश मन्त्रालयले ती दाबीहरूलाई अस्वीकार गर्दै प्रतिक्रिया दिएको छ, “पाकिस्तानले आफ्नै असफलताको जिम्मेवारीबाट पन्छिन छिमेकीमाथि दोष थोपर्ने पुरानो बानी दोहो¥याएको छ ।”
– एकता र रणनीतिक परिवर्तन –
भारत–तालिबान सम्बन्ध सुरुआती रूपमा भारतको हिन्दू राष्ट्रवादी सरकारका लागि ‘संवेदनशील’ विषय मानिएको थियो ।
तर अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप ९आइसिजी० का विश्लेषक प्रवीण डोन्टीका अनुसार मुत्ताकीले भारतप्रति ‘एकता’ देखाएपछि जनमत परिवर्तन भयो ।
उहाँका अनुसार अप्रिल २२ मा जम्मु–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि मुत्ताकीले भारतप्रति ऐक्यबद्धता जनाउनुभयो । यसले उहाँलाई भारतभित्र केही लोकप्रियता दिलायो ।
तर उक्त वक्तव्यमा काश्मीरलाई ‘जम्मू र कश्मीर, भारत’ भनेर उल्लेख गरिएकोले पाकिस्तानलाई झन् आक्रोशित बनाएको छ ।
भारत भ्रमणको अन्त्यमा नयाँदिल्लीले काबुलस्थित आफ्नो कूटनीतिक कार्यालयलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने घोषणा ग¥यो ।
विश्लेषकहरूका अनुसार यस कदमले तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने दिशातर्फ ठूलो कदम चालिएको हो — यद्यपि यो प्रक्रिया अझै लामो छ ।
अहिलेका लागि यो सम्बन्ध तालिबानका लागि राजनैतिक विजय हो भने भारत–पाकिस्तान–अफगानिस्तान त्रिकोणीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत भएको सङ्केत हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij