Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्दै, ३ खर्बभन्दा बढी लागत अनुमान

६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्दै, ३ खर्बभन्दा बढी लागत अनुमान

  • काठमाडौं । विद्युत विकास विभागले ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी तीव्र पारेको छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन  र पर्यावरणीय प्रभाव मूल्यांकन  प्रतिवेदन तयार गरी हाल ऊर्जा मन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको विभागले जनाएको छ।

    आयोजनामा एशियाली विकास बैंक को नेतृत्वमा विश्व बैंक सहितका दातृ निकायहरूले लगानी गर्न सहमति जनाएका छन्। कुल लागत ३ खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको यस आयोजनामा करिब १ अर्ब अमेरिकी डलर लगानीको प्रतिबद्धता आएको छ, जसको आधाभन्दा बढी हिस्सा एडीबीले व्यहोर्नेछ। आयोजनाबाट करिब ३ हजार घरधुरी प्रभावित हुने बताइएको छ।

    यो आयोजना कोशी प्रदेश अन्तर्गत खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका विभिन्न पालिकाहरू—रावाबेँशी, ऐसेलुखर्क, हलेसी तुवाचुङ, चिसङ्खुगढी, थुलुङ दुधकोशी र नेचासल्यान—हुँदै बग्ने दुधकोशी नदीमा निर्माण गरिँदैछ। एउटै जलाशयमा आधारित दुई विद्युतगृह रहने गरी आयोजना सञ्चालन हुनेछ — जहाँ ६०० मेगावाटको मुख्य विद्युतगृह दुधकोशी नदीको बायाँ किनारमा र ७० मेगावाटको विद्युतगृह दायाँ किनारमा रहनेछ।

    बाँधको उचाइ करिब २२० मिटर र लम्बाइ ६३० मिटर हुनेछ, जसबाट करिब ३१।५ किलोमिटर लामो र १९।७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय निर्माण हुनेछ। सो जलाशयमा १५८।१ करोड घनमिटर पानी संचय हुनेछ। उत्पादन पक्षमा चारवटा १५० मेगावाट क्षमताका फ्रान्सिस टर्बाइन प्रयोग गरिनेछ।

    उत्पादित बिजुली ४०० केभी डबल सर्किट प्रसारण लाइन मार्फत ढल्केबर सबस्टेसनमा जोडिनेछ। धितुङस्थित मुख्य विद्युतगृहसँगैको सबस्टेसनदेखि ढल्केबरसम्मको लम्बाइ ८२ किलोमिटर हुनेछ। विभागका अनुसार, आयोजना २०९० साल असारदेखि विद्युत उत्पादनमा आउने लक्ष्यका साथ अघि बढाइएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij