काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १३ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नेप्से परिसूचक २६०० पार ,कारोबार साढे सात अर्ब बढी
काठमाडौँ । बिहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नेप्से परिसूचक २६०० पारभई कारोबार साढे सात अर्ब नाघेको छ ।३४.२२ बिन्दुको उकालोसँगै नेप्से परिसूचक २६००.३८मा पुगेको हो ।
२ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयरको ५३ हजार ११२ पटकको खरिद बिक्रीबाट कुल कारोबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४सय ७३ रुपैयाँ ४५ पैसा बराबर भएको नेप्सेले जनाएको हो । विगतमा आरोलो लागेर नेप्से परिसूचक २५०० तल गएको थियो ।
मन्त्रिपरिषद् बैठकका ११ निर्णयः सेवा सुविधा कटाैती देखि राष्ट्रपतिकाे कतार भ्रमण स्वीकृतसम्म
काठमाडौँ । सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताउनुभयो ।
“रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार आर्थिक रुपमा मितव्ययी ढङ्गले चल्छ”, मन्त्री खरेलले भन्नुभयो ।
साथै सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्दै स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ ।
६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्दै, ३ खर्बभन्दा बढी लागत अनुमान
काठमाडौं । विद्युत विकास विभागले ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी तीव्र पारेको छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र पर्यावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी हाल ऊर्जा मन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको विभागले जनाएको छ।
आयोजनामा एशियाली विकास बैंक को नेतृत्वमा विश्व बैंक सहितका दातृ निकायहरूले लगानी गर्न सहमति जनाएका छन्। कुल लागत ३ खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको यस आयोजनामा करिब १ अर्ब अमेरिकी डलर लगानीको प्रतिबद्धता आएको छ, जसको आधाभन्दा बढी हिस्सा एडीबीले व्यहोर्नेछ। आयोजनाबाट करिब ३ हजार घरधुरी प्रभावित हुने बताइएको छ।
विश्वकप लिग–२ : युएईसँग पाँच विकेटले पराजित भयो नेपाल
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ ।
दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग पाँच विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो ।
युएईका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९८ रन बनाए । त्यसैगरी अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव परासरले अविजित १६, कप्तान राहुल चोपाराले १५, हर्षित कौशिकले १३ र जाहिद अलीले अविजित ११ रन बनाए ।
बिपी राजमार्ग पुनःनिर्माण र मर्मतका लागि जापान सरकारबाट दुई अर्ब ६० करोड सहयोग
काठमाडौँ । चालु आवको तीन महिनामा सार्वजनिक ऋण दायित्व ५० अर्ब बढीले बढेको छ । पहिलो त्रैमासिकको असोज मसान्तमा सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेको थियो । तीन महिनामा ५० अर्ब ६० करोड थप वृद्धि भएको जनाइएको छ ।अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४४ .६१ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा रु एक अर्ब छ करोड रकमले कमी आएको आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने रु ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । साथै राष्ट्र बैंकले सीईओलाई नसिहत पनि दिएको छ ।सप्तकोशीको न्यूनतम पुँजीकोष सीमा २४.९ प्रतिशत न्यून भएपछि राष्ट्र बैंकले कारबाही गरेको हो । राष्ट्र बैंकले सप्तकोशीमा स्थलगत निरीक्षणको क्रममा कर्जा नोक्सानी व्यवस्था समायोजन गर्दा २०८१ असार मसान्तमा संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेको १० प्रतिशतको न्यूनतम पुँजीकोष अनुपातमा ४२.७ प्रतिशतले नपुग रहेको पाएको थियो ।साथै २०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरणअनुसार न्यूनतम पुँजीकोष अनुपात ७.५१ प्रतिशत रहेको केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपातमा २४.९ प्रतिशतले न्यून रहकोले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड “क” मा रहेको व्यवस्था बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको जनाइएको छ ।
बिहीबार सुनको मूल्य घटबढ भएन, बुधबारकै मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) बिहीबार सुनको मूल्य घटबढ भएन । यो साता लागेसँगै लगातार ओरालो लागेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । सुनको उक्त मूल्य बुधबार कायम भएको मूल्य नै हो ।
यता, आज बिहीबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij