 
                                
                             
                                                            काठमाडौँ । सरकारले भिजिट भिसाका विभिन्न प्रावधान हटाएर खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट खुकुलो बनाइएको जानकारी अध्यागमन विभागले पत्रकार सम्मेलन गरी जनाएको हो ।
भिजिट भिसामार्फत विदेश जान चाहनेका हकमा सहज बनाइए अनुसार कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत बेहोरा प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा हुनुपर्ने पत्रकार सम्मेलनमा विभागले जनाएको छ ।
यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएकोमा अबदेखि यो प्रावधान हटाइएको विभागले जनाएको छ ।
अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिले नेपालको संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभूति गर्न र स्वार्थ समूहका चलखेल निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलाप नियन्त्रण गर्न सुझाव दिएको थियो ।
१० माघ २०८० देखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधान खारेज गरिएको विभागले जनाएको छ । उक्त व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने जनाइएको छ । नेपाली नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राबारे पूर्णरूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij