काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबीच शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा वार्ता सम्पन्न भएको छ।
वार्तामा महाअभियानले अघि सारेका २७ बुँदे मागबारे विस्तृत छलफल भएको जनाएको छ। बैठकमा वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै महाअभियानले उठाएका विषयहरूको सम्बोधनका लागि सरकार निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति बनेको हो।
यससँगै महाअभियानले मंसिर ७ गतेबाट सुरु हुने गरी घोषणा गरेको नेपाल बन्द तथा अनिश्चितकालीन आम हड्ताल कार्यक्रम फिर्ता लिएको छ।
वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाई सहभागी थिए।
सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी रहेका थिए। वार्ता बालुवाटारमै सम्पन्न भएको हो।
दुवै पक्षबीच अर्को चरणको वार्ता महाअभियानको शीर्ष नेतृत्वसँगै यथाशीघ्र गर्ने समझदारी पनि बनेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij