Logo

Nov 23 2025 | २०८२, मंसिर ७गते

Nov 23 2025 | २०८२, मंसिर ७गते

images

नेपालमा अण्डाको मूल्यमा भारी वृद्धि, आजदेखि नयाँ दर लागू

नेपालमा अण्डाको मूल्यमा भारी वृद्धि, आजदेखि नयाँ दर लागू

  • चितवन । नेपालमा अण्डाको मूल्य आज (मंसिर ७ गते) देखि लागू हुनेगरी भारी वृद्धि भएको छ। किसानको फार्म मूल्यलाई आधार मानेर समर्थन मूल्य निर्धारण गर्दै आएको नेपाल लेयर्स कुखुरापालक संघले नयाँ मूल्यसूची सार्वजनिक गरेपछि अण्डाको दर एकैपटक बढेको हो।

    नयाँ मूल्यसूची (प्रति क्रेट – ३० वटा)

    • एक्सएल (अति ठूलो) अण्डा : रु ५२०
    • ठूलो अण्डा : रु ५०५
    • मिडियम अण्डा : रु ४९०

    संघका अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्लो समायोजनमा प्रति क्रेट रु ५५ ले वृद्धि भएको हो।

    भारतबाट अवैध अण्डा नआएपछि मूल्य स्थिर

    पोखरेलका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा नछिर्ने अवस्था बनेपछि नेपाली अण्डाको मूल्य उत्पादन लागतअनुसार समायोजन भएको हो।
    भारतमा चुनावका कारण सीमामा कडाइ, त्यहाँ अण्डाको उच्च खपत तथा मूल्यवृद्धि हुँदा नेपालमा अवैध अण्डा प्रवेश बन्द भएको बताइएको छ।

    संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय रु ७.८० मा बिक्री भइरहेको छ। भारतमै राम्रो मूल्य पाइएकाले नेपालतर्फ तस्करी नहुने अवस्था बनेको हो।

    कँडेलका अनुसार नेपालमा अण्डाको प्रतिगोटा उत्पादन लागत रु १६.५७ पर्छ।
    अहिलेको समायोजित मूल्यमा किसानले लागत बराबरको मूल्य पाउन थालेका छन्। यसले किसान लाभान्वित हुने संघको दाबी छ।

    संघका अध्यक्ष पोखरेलका अनुसार जाडो महिनामा अण्डाको खपत स्वाभाविक रूपमा बढ्ने गर्छ।
    चिसोबाट जोगिन अण्डा पौष्टिक विकल्प हो भन्ने जनचेतना विस्तारसँगै माग बढेको उनले बताए।

    तीन महिनाअघि ठूलो अण्डाको मूल्य प्रति क्रेट रु ५३० पुगेको थियो। त्यसपछि मूल्य क्रमशः रु ४०० सम्म झरेको थियो। हाल भने पुनः बढ्दै किसानलाई लागत मूल्य पाउने अवस्था बनिरहेको संघको निष्कर्ष छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij