Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

  • कास्की।मध्यपहाडी(पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ । यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङहुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन् ।

    “हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ ।” इञ्जीनीयर सुवेदीले भन्नुभयो । उहाँका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ । इञ्जीनीयर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ । विसं २०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो । तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो ।

    यस खण्डको तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताउनुभयो । “तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ । निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो । कार्यालयबाट पटक पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ ।” सुवेदीले भन्नुभयो । सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन् । लामो समय धुलो र हिलोको सास्ती बेर्होन परेका उनीहरु फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन । पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गर्नुभयो । मध्यपहाडीको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन् । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij