काठमाडौं। अन्तरिम सरकारले टुक्रे योजनाको बजेट स्थगन गर्ने गरेको निर्णयबाट विकास योजनाका कर्मचारीलाई काम गराउन समस्या हुन थालेको छ ।जेन्जी आन्दोलनपछि गठित सरकारले मिव्यिता अपनाउने जनाउँदै बजेटमा समावेश गरिएको टुक्रे आयोजनाहरूको बजेट कटौती गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयले काम गर्न समस्या निम्त्याइएको जनाइएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले संसदीय समितिको सोमबार डाकिएको बैठकमा नै बजेट स्थगनप्रति असन्तुष्टि जनाए । उनले बजेट स्थगनका कारण मन्त्रालयका धेरै योजना कार्यान्वयन गर्न नसकिएको बताए।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सोमबार चालु आवको बजेट कार्यान्वयन लगायत विषयमा छलफलका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र सचिव शर्मालाई बोलाएका थिए ।
समितिको बैठकमा सचिव शर्माले बजेट स्थगनका कारण वैकल्पिक राजमार्ग निर्माण र यो वर्ष थपिएका आयोजनामा काम गर्न समस्या भएको बताए। उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत २० अर्ब रुपैयाँ बजेट स्थगन गरिएको छ।
सचिव शर्माका अनुसार सात वटै प्रदेशमा भेहिकल फिटनेस सेन्टर खोल्ने योजना बजेट स्थगनका कारण अलपत्र छ। राष्ट्रिय गौरवका आयोजनामा पनि बजेट रोकिएको कारण काम गर्न समस्या भइरहेको छ।सचिव शर्माले बजेट स्थगनका कारण काम गर्न अप्ठेरो परेको विषयमा अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराइसकेको बताए।
बजेट स्थगनले समस्या भएको विषयमा अर्थमन्त्रीलाई भेटेर जानकारी गराइसकेपछि टेण्डरमा गइसकेका र सम्झौता भइसकेका आयोजनाको बजेट फुकुवा गर्ने आश्वासन मन्त्रीबाट पाइएको सचिव शर्माले जनाए ।
मन्त्रिपरिषद्ले दुई महिनाअघि अर्थमन्त्री खनालको प्रस्तावमा प्रतिनिधि सभा निर्वाचन र पुनर्निर्माणका लागि आवश्यक रकम जोहो गर्न आयोजना बैंकमा नरहेका र टुक्रे आयोजना स्थगनको निर्णय गरेको थियो। करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबरका आयोजना स्थगन गरिएका हुन् ।यसअघि प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक २८ गते राखेको बैठकमा अर्थमन्त्रीको सामुने त्यो निर्णयलाई लिएर शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले असन्तुष्टि जनाएका थिए।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माका अनुसार चालु आर्थिक वर्ष पहिलो त्रैमासिकमा ा १२९ किलोमिटर सडक २ लेनमा कालोपत्रे भएको छ। ७ किलोमिटर सडक चार लेन कालोपत्रे गरिएको छ। उनले ३३ किलोमिटर ग्राबेल सडक बनाउनुका साथै २७ किलोमिटर नयाँ ट्र्याक खोलेको जनाए । सोहीगरी ७ वटा पुल निर्माण भएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij